प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन्।
शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्कीले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।
करिब एक घन्टा चलेको बैठकमा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए।
छलफल क्रममा प्रधानमन्त्री कार्कीले चुनावबारे दलहरू स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन्।
महामन्त्रीद्वय थापा र शर्माले नेपाली कांग्रेस निर्वाचनमा जाने विषयमा प्रतिबद्ध रहेको जानकारी गराएका थिए।
‘औपचारिक निर्णय गर्न बाँकी भए पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौं। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौं, महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने।
महामन्त्रीद्वयले कांग्रेसले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताएका थिए।
जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूको थियो।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको जानकारी दिएकी थिइन्।
शनिबार एमालेको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन्।
प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय छलफल पनि भएको थियो।