राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनःगठन र सुधारको विषय उठाउँदा आफूविरूद्ध पार्टी छाडेर जान लागेको भाष्य निर्माण गरिएको बताएकी छिन्। 
सेतोपाटीसँगको कुराकानीमा कार्कीले पुराना पार्टीको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा वैकल्पिक र स्वतन्त्र धार भएका व्यक्तिहरूलाई समेटेर पार्टी पुनःगठन गर्नुपर्ने आवाज उठाइरहेको बताइन्। 
‘रास्वपा यदि साँच्चिकै यो भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा उभिने हो भने यसले वैकल्पिक र स्वतन्त्र धार भएका व्यक्तिहरूलाई समेट्न सक्नुपर्छ,’ कार्कीले भनिन्, ‘विकल्पको राजनीति छोडेर मूलधारको मध्यमार्गी राजनीतिको साझा प्लेटफर्म बन्न सक्नु पर्छ।’
उनले पार्टी व्यक्ति केन्द्रित भएर अघि बढेको र पटक-पटक गतल निर्णय भएको बताइन् । ‘पार्टीमा जनताको मुद्दामा भन्दा व्यक्तिको मुद्दामा अलमलियो,’  कार्कीले भनिन्, ‘अब महाधिवेशनबाट नेतृत्व पुनःगठन गरेर अघि बढ्नुपर्छ।’ 
आफूले पार्टी नेतृत्व सांगठनिक पुनरवलोकनको विषय उठाए पनि रवि लामिछानेको विरूद्ध लगेको भनेर भ्रम फैलाइएको बताइन्। 
‘वैचारिक र सांगठनिक पुनःगठनको मुद्दा उठाउँदा अतिरञ्जित गरेर सामाजिक संजालको दुरूपयोग गरेर ममाथि निरन्तर प्रहार भइरहेको छ,’ कार्कीले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई हटाउन खोजेको र विकल्प खोजेको भनेर पुनःगठनको विषयलाई कमजोर बनाउन खोजिएको छ।’
उनले सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपछि आफूमाथि प्रहार बढेको बताइन्। 
‘सुमनाजी पार्टीबाट निस्किनु भएदेखि नै निरन्तर ममाथि छोडेर जा, छोडे हुन्थ्यो, किन छाडिनस् भन्ने किसिमको अथवा छोड्दै छ भन्ने किसिमको भाष्यहरू निर्माण गरेर आत्मसम्मानमा आक्रमण भइरहेको छ,’ तोसिमाले भनिन्, ‘मेरो फरक विचार र पार्टी सुधारको विचार माथि नै आक्रमण भइरहेको छ।’ 
राष्ट्रिय स्वतन्त्र पार्टीले केही समयअघि सचिवालय विस्तारको निर्णय गरेको थियो। प्रत्यक्ष निर्वाचित सबै सांसदलाई सचिवालयमा लैजाँदा रास्वपाले तोसिमा कार्कीलाई मात्र सचिवालयमा लगेको थिएन। 
तर कार्कीले भने आफूलाई सचिवालयमा बस्न प्रस्ताव आएको भए पनि नबसेको दाबी गरिन्। 
‘मैले प्रस्ताव गर्नुभयो धन्यवाद तर म बस्दिनँ भनेर भनेको हुँ’, कार्कीले भनिन्, ‘दुई हप्तामा पार्टीको विस्तारित बैठक हुँदैछ। अनि हतार-हतार अहिले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई सचिवालयमा थप्नुपर्ने कुनै औचित्य थिएन। जबकि विस्तारित बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने भनिएको छ। पुनःगठनको कुरा उठिराखेको छ। अनि हतार-हतार विस्तार गर्ने निर्णय कसरी भयो भन्ने प्रश्न हो।’ 
राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक २१ देखि २३ गतेसम्म विस्तारीत बैठक गर्दैछ। 
तर कार्की पार्टीको विस्तारित बैठक सुधारमा भन्दा पनि राय-सुझाव संकलनमा केन्द्रित गर्न खोजिएको बताउँछिन् । 
‘विस्तारित बैठकमा निर्वाचन क्षेत्र सम्मको साथीहरूको सहभागिता हुँदैछ। यसमा प्रदेश समिति पनि सहभागी हुनुपर्छ भन्ने मेरो धारणा हो,’ कार्कीले भनिन्, ‘जिल्ला जिल्लाबाट धेरै खर्च गरेर साथीहरू आउँदै हुनुहुन्छ। यहाँ आएर केन्द्रले राखेको प्रतिवेदन सुन्ने र राय सुझाव मात्र दिनेमा सीमित हुनुहुँदैन। प्रतिवेदनहरूलाई स्वीकार गर्ने, अस्वीकार गर्ने, संशोधन सहित स्वीकार गर्ने स्पष्ट निर्णयको अधिकार सहभागीहरूलाई दिनुपर्छ।’