नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भेला बोलाएका छन्।
विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले भेला बोलाएका हुन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरे पनि त्यसअनुसार कांग्रेसले प्रक्रिया सुरू गरेको छैन भने नियमित महाधिवेशनमा नेताहरूले जोड दिइरहेका छन् तर कार्यतालिका ल्याउन ढिलाइ भइरहेको छ।
जारी केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन कार्यतालिका ल्याउने सम्भावना नदेखिएको भन्दै विशेष महाधिवेशन माग सान्दर्भिक भएकोले नेतृत्वमाथि दबाब दिन महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंमा भेला गर्न लागेका हुन्।
नेता गुरूराज घिमिरेले आइतबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूको भेला हुने जानकारी दिए।
‘आज र भोलि केन्द्रीय समिति बैठक हेर्छौं, नियमित महाधिवेशन कार्यतालिकासहित महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितता आएन भने पर्सी महाधिवेशन प्रतिनिधिहरूको भेला हुन्छ,’ घिमिरेले सेतोपाटीसँग भने, ‘त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया सुरू गर्न भन्छौं।’
पार्टी विधानको धारा १७ को २ अनुसार महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाई विशेष महाधिवेशन माग गरेका हुन्। उक्त धाराअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। 
तर सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले फागुन २१ को चुनावअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न नसकिने बताउँदै आएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रदीप पौडेललगायत भने चुनावअघि नियमित महाधिवेशनका पक्षमा छन्। 
यीमध्ये महामन्त्रीद्वय भने नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्नेमा छन्। जुन कुरालाई केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि साथ दिएका छन्।
अहिलेको केन्द्रीय समितिको म्याद थप गर्न तयार हुनेहरूले विशेष महाधिवेशन गर्न पनि तयार भएर बस्न पौडेलले आग्रह गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिन्छ। २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन भएको थियो। विधानमा नियमित कार्यकाल ४ वर्षको हुने उल्लेख छ भने विशेष परिस्थितिमा एक वर्ष म्याद पनि थप गर्न सकिने व्यवस्था छ।
भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा पनि नीति र नेतृत्व परिवर्तन गर्दै पार्टीलाई रूपान्तरण गरेर जानुपर्ने माग छ। 
महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव पेस गरे पनि केन्द्रीय समितिमा पेस गर्न पाएका छैनन्। सभापति देउवा पक्षका नेताहरू महाधिवेशन कार्यतालिका ल्याउन तयार नदेखिँदा बिहीबारको केन्द्रीय समिति बैठक महामन्त्री थापा अनुपस्थित रहेका थिए। महामन्त्री थापाले सभापति देउवा पक्ष तयार नभए पनि अबका केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी गरेका छन्।
आज दिउँसो १ बजे साेनपामा केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठक असोज २८ कै केन्द्रीय समिति बैठकको निरन्तरता हो। उक्त बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा हाल थप उपचारका लागि सिंगापुरमा छन्।