नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी एकढिक्का भएर जाने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा आज नेपाल तरूण दलको स्थापना दिवसको कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप हालेको छ भने विल्कुलै नसोचे हुन्छ, कांग्रेस एक ढिक्का रहन्छ।’
उनले बदलिएको परिस्थितिबमोजिम पार्टीले आफूलाई बदल्ने र समाजलाई पनि बदल्ने गरी अघि बढ्ने बताए।
विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको सन्दर्भमा कतिपय नेताहरूले त्यसले पार्टीलाई विभाजित गर्ने बताइरहेका छन्।
महामन्त्री शर्माले सभापति र महामन्त्रीहरू भनेको संगठनको संस्थापन रहेको बताए।
‘सभापति र महामन्त्रीहरू भनेको संगठनको संस्थापन हो, विचारगत र समूहगत हिसाबले को मानिस कहाँ उभिन्छ अलग कुरा हो, विश्वप्रकाश वा गगन थापा कहाँ उभिने अलग कुरा हो,’ उनले भने, ‘कसैले विग्रहमा लैजाने सोच्यो भने पनि त्यसलाई ठिक ठाउँमा ल्याउने सभापति र महामन्त्रीहरूको कर्तव्य हो।’