गृहमन्त्रीसहित ३ जना मन्त्रीहरू मधेस प्रदेश भ्रमणमा जाने भएका छन्।
शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन मन्त्रीहरू मधेस जान लागेका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मधेस जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रीहरूको साथमा गृहसचिव रामेश्वर दंगालसमेत मधेस जानेछन्।
मन्त्रीहरू आइतबार र सोमबार मधेसमा रहनेछन्।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ। त्यसका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्रीसहित मन्त्रीहरू मधेस जान लागेका हुन्।
मन्त्रीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालय प्रमुखहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।