प्रधानमन्त्री सुशीला कार्कीले श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ।
२०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए।
त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए।
कांग्रेसमा अहिले पनि यही महाधिवेशन प्रतिनिधि कायमै छ।
१४ औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।
त्यो बेलादेखि अहिलेसम्म ६८ जना महाधिवेशन प्रतिनिधिले दल त्याग गरेको विवरण कांग्रेससँग छ भने मृत्यु भएको संख्या ४६ जना छ।
खगेन्द्र सुनारविरूद्ध तीन वटा अदालतमा मुद्दा चलिरहेकाजस्ता तथ्य बाहिर आएका छन्।
त्यसैले अहिले प्रधानमन्त्री कार्की पनि खगेन्द्र सुनारलाई मन्त्री बनाउने कि नबनाउने भन्नेमा थप छलफलमा छिन्।
पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा सरकार बनेका बेला नागरिक सरकार भएकाले राजनीतिक दलसँग आबद्ध नरहेकाहरूलाई मन्त्री बनाउने चर्चा थियो। सञ्चारमन्त्री जगदिश खरेल पनि नेपाली कांग्रेस महाधिवेशन सदस्य रहेको खुलेको थियो।
मन्त्री बन्न लागेका खगेन्द्र सुनारविरूद्ध तीन अदालतमा चलिरहेका छन् मुद्दा
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ।
सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो।
दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ।
सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ। उक्त मुद्दामा २०८१ असार १४ मा सात दिने र साउन २७ गते ३५ दिने पक्राउ पुर्जी जारी भएको थियो। मुद्दा अझै किनारा लागेको छैन।
सुर्खेत अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार सुनार २०८१ चैत १२ गते आफै हाजिर हुन आएका थिए। तर त्यसयता उनले तारेख गुजार्दै आएका छन्।
त्यही मुद्दामा परेका अन्य पाँच जना अभियुक्तले नियमित तारेख थामिरहँदा पनि खगेन्द्रले अहिलेसम्म तारेख गुजारिरहेको रावलले बताए।
सुर्खेतका प्रहरी प्रमुख एसपी धिरज शाहीले पनि स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा सुनारविरूद्धको मुद्दा अझै विचाराधीन नै रहेको बताए।
उता काभ्रे जिल्ला अदालतमा उनीविरूद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा छ। मुद्दा दायर गर्ने अधिवक्ता मनीषा गौतमका अनुसार काभ्रे अदालतमा अहिले पनि त्यो मुद्दा विचाराधीन छ।
चारित्रिक प्रमाणपत्र जारी गर्दा नेपाल प्रहरीले रेकर्ड जाँच गर्ने क्लियरेन्स रजिस्ट्रेसन सिस्टम (सिआरएस) मा सुर्खेत र काभ्रेका यी दुवै मुद्दाबारे उल्लेख रहेको प्रहरीको उच्च स्रोतले सेतोपाटीलाई बतायो। स्रोतका अनुसार उनलाई फरार अभियुक्त भने भन्न मिल्दैन।
अधिवक्ता गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा हालेकी हुन्। अदालतले घटना विवरणका लागि अभियुक्त सुनारलाई बोलाएको भए पनि उनी हाजिर हुन नगएको गौतमले जानकारी दिइन्।
'मविरूद्ध फेसबुकमा तथानाम लेख्दै गालीगलौज गरेपछि म साइबर ब्युरो गएकी थिएँ। मेरो नागरिकताको स्थायी ठेगाना काभ्रे भएकाले उतै जानू भनेर प्रहरीले भनेपछि काभ्रे जिल्ला अदालत गएर मुद्दा दर्ता गरेकी हुँ,' गौतमले सेतोपाटीसँग भनिन्, 'काभ्रे अदालतले पक्राउ पुर्जी जारी गर्न मानेन, तर घटना विवरणमा उपस्थित गराएर प्रक्रिया पुर्याउँछौं भनेको थियो। तर खगेन्द्र सुनार अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्।'
सुनारले जाजरकोटका नवराज विक हत्या प्रकरणमा सुर्खेत उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै अदालत बाहिरै हुलहुज्जत र तोडफोड प्रयास गरेका थिए। उनले न्यायाधीशहरूमाथि समेत गालीगलौजपूर्ण अभिव्यक्ति दिए।
त्यसपछि अधिवक्ता गौतमले सुनारविरूद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा हालेकी थिइन्। त्यो मुद्दाको पनि छिनोफानो हुन बाँकी छ।
सुनारले त्यति बेला यो सुनारविरूद्ध गालीगलौज गर्दै 'दिउँसै कालो धन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारबीच के फरक छ' भनेर लेखेका थिए। उनले फेसबुककै अर्को पोस्टमा 'तँ नेपाल बारको होस् कि ठमेल बारको भनेर सोधौं' भन्दै मनीषाको फोटो र नम्बर फेसबुकमा सार्वजनिक गरेका थिए।
'यो मुद्दाको पनि छिनोफानो भएको छैन,' गौतमले भनिन्, 'पछिल्लो पेसी असोज ६ गतेलाई तोकिएको थियो। जेन-जी आन्दोलनले अदालत जलेपछि पेसी हुन सकेन।'