पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का सार्वजनिक भएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले 'भागिसके' भनेको भोलिपल्ट बूढानीलकण्ठस्थित जलेको घरबाटै सोमबार बिहान खड्का सार्वजनिक भएका हुन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले उनको घर जलाइदिएका थिए।
जलेको घरको प्रांगणमै सोमबार बिहान उनले पत्रकारहरूसँग कुराकानी गरेका छन्। त्यसको भिडिओ पनि सार्वजनिक भएको छ।
खड्काले सरकारले आफू भागिसकेको भनेर सरकारले गलत प्रचार गरेको बताए।
उनले राज्यले आफूविरूद्ध वारेन्ट जारी गरेको वा कुनै कसुरमा देश नछाड्नू भनेको अवस्था नरहेकाले सामान्य नागरिकसरह आफू जुनसुकै ठाउँमा जान स्वतन्त्र रहेको पनि बताए।
'सरकारले मलाई चिठी काटेको छ? वारेन्ट जारी भएको छ? कहिँ नजानू भनेको छ? मेरो के रोक गरेको छ र म भागेँ भन्ने? सरकारले त्यसो भन्न मिल्छ? गृहमन्त्री त कानुनको विद्यार्थी पनि हो,' उनले भने।
त्यसो भए उनी कहाँ थिए?
त्यहाँ उपस्थित पत्रकारहरूले उनलाई यही प्रश्न गरे।
जबाफमा खड्काले भदौ २४ गतेपछि आफू कहाँ थिए भन्नेबारे बताएका छन्।
उनका अनुसार भदौ २४ गते प्रदर्शनकारीहरू छिर्दा उनी घरमै खाना खाँदै थिए।
'आगजनी हुँदा घरैमा थिएँ। खान खाँदै थिएँ। ढोका ढ्याङ ढ्याङ हान्न थालेपछि खाना खान पनि पाइएन। बच्चालाई पनि खुवाउन पाइएन। आगजनी भएपछि अंगरक्षक लगायत सुरक्षाकर्मीको अनुरोधमा घर छाड्यौं,' उनले भने।
खड्काले प्रदर्शनकारीहरूले घरमा तोडफोड र आगजनी गर्दा आफू छिमेकीको घरमा बसेको पनि बताए। त्यहाँबाट राति मात्रै सेनाले सुरक्षित ठाउँमा लगेको उनले बताए।
भदौ २४ गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत शीतलनिवास लगायत अधिकांश सरकारी कार्यालय, प्रहरी कार्यालहरुमा तोडफोड र आगजनी हुँदा त्यतिबेला सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र नेताहरूलाई सेनाले उद्धार गरेको थियो।
खड्काले कुन ब्यारेकमा राखिएको थियो चाहिँ खुलाएनन्।
सेनाको सुरक्षाबाट बाहिर निस्किएपछि बूढानीलकण्ठमै बसेको पनि उनले बताए।
'सुरक्षाकर्मी साथीहरूकै अनुरोधमा छिमेकमा बसेँ। राति यहाँबाट निस्केर आर्मी क्याम्पमा बसियो। त्यहाँ ८/९ दिन बसियो होला। त्यहाँबाट फर्केर ४/५ दिन बूढानीलकण्ठमै बसियो,' उनले भने।
त्यसपछि भने परिवारसहित तराईतर्फ लागेको उनले बताए।
तराई पुगेपछि डेंगी भएको र उपचारका लागि त्यहीँबाटै भारत गएको उनले बताए।
भारको मेदान्त हस्पिटलमा ११ दिन उपचारका लागि बसेको उनले बताए।
'११ दिन मेदान्त हस्पिटलमा उपचार क्रममा बसेको छु बच्चासहित। रेकर्ड नै छ। मलाई पनि डेंगी भयो। श्रीमती उतै छिन्। त्यो छोडेर समाजमा दिग्भ्रमित पारेर सरकार एक जनाको पछि लाग्दा सिंगो समाज भ्रमित भयो। दुःख लागेर आएँ,' उनले पत्रकारहरूसँग भने।
उनले श्रीमती र छोरा भारतमै रहेको पनि बताए।
'डेंगी क्लियर भयो तर श्रीमतीलाई ट्रमा जस्तोभएको छ। अहिले पनि उपचारका क्रममा उही छन्,' उनले भने।
प्रदर्शनकारीले उडाएको पैसाबारे के भने?
भदौ २४ गते दीपक खड्काको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि सार्वजनिक भएको थियो।
सो भिडिओबारे पत्रकारहरूले सोमबार खड्कालाई नै प्रश्न गरेका थिए।
जबाफमा खड्काले प्रदर्शनकारीहरूले पैसा उडाउँदै गर्दा आफू घरमै रहेको पनि बताए।
'मेरो घरमा कति पैसा थियो। कति विदेशी पैसा थियो भनेर प्रहरीसँग दर्ज गरेको छु। उडाएर फोटो खिचिएको थियो। यही घरमा बसेर हेरिरहेको थिए,' उनले भने।
उनले दसैंका लागि भनेर राखिएका २० र ५० रूपैयाँका नोटका बन्डलहरू लगेर प्रदर्शनकारीहरूले उडाएको दाबी गरे।
'मैले दसैंका लागि ल्याएर राखेको पैसा थियो। २० र ५० रूपैयाँका नयाँ नोटहरू थिए। त्यसका एकएकवटा बन्डल ल्याएर फुर्र उडाएर सँगसँगै फोटो खिचिरहेका थिए। त्यो प्लानमा थियो। चरित्र हत्या गर्न प्लान गरिएको थियो,' उनले भने।
उनले आफ्नो व्यवसायिक पृष्ठभूमिका आधारमा केही पैसा हुनु अस्वभाविक नहुने पनि बताए।
'दीपक खड्कासँग दुई चार लाख पैसा नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमी हेर्नुभाछ? संगत गर्नुभाछ?,' पत्रकारहरूलाई उनले भने, 'म त्यो पृष्ठभूमिबाट आएको मान्छे। मेरो जे व्यवसायिक संरचना छन् मन्त्री हुनु र राजनीति गर्नुभन्दा पहिल्यै तयार भएका थिए,' उनले भने।