नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारमा लागेका कारण कार्यवाहक सभापति तोकेको बताएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले आफू स्वस्थ भएकाले कार्यवाहक दिइराख्नु नपर्ने बताएका हुन्।
‘शेरबहादुरजीले कार्यवाहक दिनुभयो। उहाँ उपचार गर्न जानुभएको छ त कार्यवाहक दिनुहुन्न’, ओलीले प्रश्न गरे, ‘म पाँच फिटका पोथ्रा नाघेर हिँड्छु अनि कार्यवाहक दिनुपर्ने? बेकारको। किन दिने कार्यवाहक?’
जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सभापति देउवाले असोज २८ गते केन्द्रीय समिति बैठकमा पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
अध्यक्ष ओलीले पार्टीभित्र अझै पनि आफूलाई क्याप्टेन नछाड्न भनिएको पनि बताए।
'क्याप्टेनले छोड्यो भने टिममा अर्को क्याप्टेन त आइहाल्छ। तर अरूले भन्दा क्याप्टेन छोड्ने होइन। टिमले भन्नु पर्यो नि। अहिले टिमले मलाई नै क्याप्टेन हुनुपर्छ भनेको छ,' उनले भने, 'मजस्तो क्षमता भएको मान्छेलाई फेरि प्रधानमन्त्री हुनुहुन्न भनेर पूजा गर्न मन लाग्छ भने गरे हुन्छ।'
उनले संसद पुनःस्थापनाको अर्को बाटो नभएको पनि बताएका छन्।
‘संसद पुर्नस्थापाना अर्को बाटो छैन’, ओलीले भने, ‘असंवैधानिक ढंगले अधिकार प्राप्त नभएको व्यक्तिले सिफारिस गरेर विघटन गरिएको छ।’