नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई ब्रिफिङ गरेको बताएका छन्।
शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले २२ गते राति सुरक्षा निकायहरूले आफूलाई ब्रिफिङ गरे विपरितको घटना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बताएका हुन्।
'६/७ हजार १० हजार विद्यार्थी जम्मा हुने कुरा छ। हामी त्यहाँ रोक्छौं उनीहरूले छाड्छन्। शान्तिपूर्ण जुलुस हुन्छ भन्ने ब्रिफिङ मैले २२ गते राति सुरक्षा समितिको बैठकमा गरिएको थियो,' उनले भने।
भदौ २३ गते जेनजी आन्दोलन क्रममा संसद भवन अगाडि मात्रै १७ जना आन्दोलनकारी मारिएका थिए।
त्यस दिन संसद भवनमा अरू दिनजस्तो सुरक्षा व्यवस्था नभएको पनि ओलीले दाबी गरे।
गोली चलेको विषयमा पनि ओलीले यसअघि गर्दै आएको दाबी दोहोर्याए।
'शान्ति सुव्यवस्था कायम गर्न खटाइएका प्रहरीहरूसँग त्यो बन्दुक हुँदैन। कुनै विशेष टास्क फोर्स राख्नु र त्यहाँ हुनु बेग्लै कुरा हो। तर सडकमा शान्ति सु-व्यवस्था कायम राख्नका लागि एसएलआरजस्ता बन्दुकहरू र गोलिगठ्ठा दिइएको हुँदैन,' उनले भने।
ओलीले २४ गते आगजनी, तोडफोड र लुटपाट गर्नका लागि वातावरण तयार पार्नका लागि २३ गते त्यस्तो घटना गरिएको बताए।
'२४ गतेको घटनाको तयारी थियो। आवेश उत्तेजनाको वातावरण ल्याउनुपर्ने आवश्यकता थियो त्यसैले त्यो गरिएको हो। को संलग्नता छ,' उनले भने।
उनले अहिले नाम आएको टिओबी समूहले बानेश्वरको ब्यारिकेड तोडेपछि घटना भएको पनि बताए।
'सक्कली नक्कली, नक्कली सक्कली हुन्छ। साँच्चै गर्यो भने कहिले त्यो सुटिङ हुन्छ। कहिले रियल भइदिन्छ। के बनाउनुपर्ने हो त्यो हुन्छ। त्यो बेला नक्कली हतियारको सुटिङ हुँदैथ्यो र नेपालमा ? त्यस्ता खालका मान्छेहरू आए र ब्यारिकेड तोड्न खोजेपछि जेनजीहरूले माइकिङ गरेर भनेका थिए,' उनले भने।