राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
छलफलमा राष्ट्रपति पौडेलले हालको राजनीतिक संक्रमण, जनआन्दोलनपछिको अपेक्षा, र जेनजी पुस्ताको भावनालाई सम्बोधन गर्न नागरिक समाजले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले संविधानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सरकार र राजनीतिक दलहरूलाई सहयोग गर्ने सकारात्मक वातावरण निर्माण गर्नु नागरिक समाजको जिम्मेवारी भएको बताउनु भएको छलफलमा सहभागी नागरिक अगुवा गेजा शर्मा वाग्लेले जानकारी दिए।
'संविधानलाई ट्रयाकमा ल्याउने, जनताको भावना र जेनजी पुस्ताको आशाअनुसार सरकार सञ्चालन गर्न राजनीतिक दललाई खबरदारी गर्दै सकारात्मक वातावरण सिर्जना गर्नु नागरिक समाजको प्रमुख भूमिका हो,' भेटमा राष्ट्रपति पौडेलले भने।
राष्ट्रपतिसँगको उक्त भेटमा नागरिक समाजका अगुवा केदारभक्त माथेमा, लोकराज बराल, कृष्ण खनाल, हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल सहभागी थिए।
भेटका क्रममा सहभागीहरूले हालको राजनीतिक परिस्थिति, सरकार र दलहरूको जिम्मेवारी, र जेनजी आन्दोलनपछिको अपेक्षाबारे राष्ट्रपतिलाई सुझाव दिएका थिए।
उनीहरूले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निष्पक्ष निर्वाचन, सुशासन र जवाफदेही शासनका लागि नागरिक समाज निरन्तर सचेत रहिरहने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपतिले नागरिक समाजलाई “राजनीतिक स्थायित्व र संविधानको सफल कार्यान्वयनका लागि सरकार र जनताबीचको सेतु”को रूपमा कार्य गर्न आग्रह गर्दै लोकतन्त्रको बल नागरिक सचेतनामा नै रहेको उल्लेख गरे।