जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि त्यो जेनजीमा आफू नपर्ने बताएका छन्।
शनिबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले जेनजीका थुप्रै समूह रहेको र सरकार बनाउने जेनजीमा आफू नपर्ने बताएका हुन्।
पत्रकार सम्मेलनमा ढुंगानाले गठन भनेको राजनीतिक दल चुनावमा नजाने बताएका थिए।
त्यसपछि जेनजीले नै बनाएको सरकारले घोषणा गरेको चुनावमा किन नजाने? सरकार कसको हो? भनेर एकजना सहभागीले प्रश्न गरेका थिए।
जबाफमा ढुंगानाले सरकार जेनजीले नै बनाएको बताएका हुन्।
'सरकार जेनजीको हो। त्यो जेनजीमा म पर्दिनँ। जेनजीको पनि धेरै फ्र्याक्सनहरू छन्। १९९७ देखि २०१२ सम्मका जेनजी हुन्। त्यस हिसाबमा नेपालको जनसंख्याको तीस प्रतिशत जेनजी छन्। त्यसमा म मात्रै पर्दिनँ,' उनले भने।
ढुंगानाले तितरबितर भएको जेनजीहरूलाई एकीकृत गर्नका लागि पार्टी खोल्ने पनि बताए। अहिले वार्ता समिति गठन भएको र त्यसले पार्टी निर्माणको काम गरिरहेको उनले बताए।
'जेनजी नमान्ने पुराना तत्वहरू छन्। उनीहरूको आवाज धेरै ठूलो हुन दिनुभन्दा पहिले हामी संगठित हुनुपर्छ भनेर पार्टो खोल्न लागेका हौं,' उनले भने।
पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सेरेमोनियल राष्ट्रपतिको एजेन्डा उठाउने पनि उनले बताए।
त्यसका लागि अहिलेको सरकार तयार भए आफ्नो दल पनि आगामी निर्वाचन भाग लिने उनले बताए। नभए चुनावमा नजाने उनले बताए।
ढुंगानाले अन्तरिम सरकारको चुनाव मात्रै गराउनु नरहेको पनि बताए।
'चुनाव गराउनु मात्रै अहिलेको सरकारको म्याण्डेट होइन। यतिका मान्छेहरूले वलिदान गरेर अरू थुप्रै म्याण्डेटहरू सरकारलाई दिएको हो। त्यसबारेमा प्रधानमन्त्रीले बुझ्नुपर्छ,' ढुंगानाले भने।