नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै महाधिवेशन गर्ने गरी पार्टी महामन्त्रीले कार्यतालिका ल्याए त्यसमा आफ्नो समर्थन रहने बताएका छन्।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता कोइरालाले भने, ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।’
यस्तो छ नियमित महाधिवेशनबारे कोइरालाको भनाइ;
आज कुरा उठेको छ, कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर। कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देशभित्र र बाहिरका हाम्रा शुभचिन्तकहरू मात्र छैनन्, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरूले पनि हाम्रा भावी कदमवारे आँखा लगाएर हेरिरहेका छन्।
अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ?
त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरू माझ भन्न चाहन्छु “कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी” बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५ औं महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।
“विशेष महाधिवेशनको” सन्दर्भमा उठेका र कांग्रेसभित्रबाट साथीहरुले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै ऊर्जा भर्न हो भनी म बुझ्छु। यी सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु।
यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन। सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिढीँले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ। हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ। महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने “राष्ट्रिय निर्वाचन”लाई आम जनताबीच कांग्रेसलाई फेरी एकपटक जागृत गराउनेछ ।
हेक्का राख्नुपर्ने कुरा के छ भने हाम्रा अगाडि उभिएका चुनौतिका अनुहार परिवर्तन भएका छन्, यो सामाजिक गतिको स्वभाविक प्रकृया हो। समय सापेक्ष हामी पनि परिवर्तन हुनुपर्छ। त्यो हाम्रो चरित्र र आचरणमा देखिनुपर्छ। अन्यथा हाम्रो नीति र नियम माथि नियतमा रहेको हाम्रो खोटले हामीलाई हराइरहने छ।