नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्षको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले राजीनामा दिन सुझाएकी छन्।
केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रममा सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीहरुले अध्यक्षको राजीनामा मागेको बताउँदै केन्द्रीय सदस्यहरूले त्यस्ता पदाधिकारीको राजीनामा माग्नुपर्ने बताएकी हुन्।
‘केही पदाधिकारीहरुले सचिवालय बैठकमा अध्यक्षको राजीनामा माग्नु भयो रे,’ गौतमले भनिन्, ‘तपाईंहरु पनि दुई पटक पदाधिकारी भइसक्नु भयो। तपाईंहरुको राजीनामा हामी केन्द्रीय सदस्यले माग्यौं भने दिनुहुन्छ?’
गौतमले कसैले राजीनामा मागेकै भरमा एक वर्ष कार्यकाल बाँकी रहेको पार्टी केन्द्रीय कमिटीको महाविधेशन गर्न हतारिनु नपर्ने पनि बताइन्।
‘हाम्रो कार्यकाल अझै एक वर्ष छ। कसैले राजीनामा मागेकै कारण हतारिएर महाधिवेशन गर्नुपर्ने स्थिती छैन,’ गौतमले भनिन्।
अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले केपी ओलीको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको बताए।
‘पार्टी र नेतृत्व यस्तो संकटमा गुज्रिएको छ। यसैबेला राजिनामा माग्ने?’ ओलीले भने, ‘नेतृत्व चयनका लागि महाधिवेशन घोषणा भइसकेको छ। यस विषयमा त्यही छलफल गरौंला। त्यही टुंगो गरौं।’
ओलीले कार्यकर्ता र जनताका वास्तविक समस्या र गुनासा केन्द्रीय कमिटीसम्म आइनपुगेको पनि बताए।
उनले केन्द्रीय कमिटीमा छलफल भए भन्दा फरक खालका गुनासा जनतामा रहेको बताए।
‘हामीसँग जनताका गुनासा फरक छन्। ती विषय यहाँ आइपुगेका छैनन्,’ ओलीले भने, 'यसका लागि कार्यकर्ता र जनताको गुनासो सुन्ने अभियान पार्टीले घोषणा गर्नुपर्छ।’