कपाल गायब पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम पत्रिकाको आलोचना गरेका छन्।
गजामा युद्धविराम गराउनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै टाइमले नयाँ अंकको मुख्य समाचार छापेको थियो। तर तलबाट र उनको टाउकोको पछाडिबाट सूर्यको प्रकाश आउने गरी खिचिएको तस्बिर छापिएपछि उनले आलोचना गरेका छन्।
‘टाइम पत्रिकाले मेरो बारेमा तुलनात्मक रूपमा राम्रो समाचार लेख्यो। तर फोटो भने अहिलेसम्मकै सबैभन्दा खराब हुन सक्छ,’ ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरूले मेरो कपाल गायब पारिदिए, र त्यसपछि मेरो टाउकोको माथि एउटा सानो तैरिरहेको मुकुट जस्तो देखिने केही राखिदिए। साँच्चै अनौठो! उसै पनि मलाई तलको कोणबाट तस्बिर खिचेको कहिल्यै मन पर्दैन। तर यो एकदमै नराम्रो तस्बिर हो, र यसलाई आलोचना गर्नुपर्छ। उनीहरू के गरिरहेका छन्, र किन?’
सो तस्बिर अक्टोबर ५ मा ह्वाइट हाउसमा ब्लूमबर्गका लागि ग्रेम स्लोएनले खिचेका थिए भनेर द गार्डियनले लेखेको छ।
टाइम कुनै समय अमेरिकामात्रै नभएर विश्वकै प्रमुख साप्ताहिक पत्रिका (म्यागजिन) थियो। यसमा आवरण तस्बिर छापिनु विश्वका ठूला-ठूला व्यक्तिका लागि प्रतिष्ठाको विषय हुन्थ्यो।
टाइमले वर्ष व्यक्ति छान्नुलाई ठूलै पुरस्कार जस्तो लिइन्थ्यो। आजकाल यसको पाठक घटेर केही वर्ष अघि देखि पाक्षिक बनाइएको छ। अनि यसले पहिलेको जस्तो अमेरिकामा एजेन्डा निर्धारण गर्ने हैसियत गुमाएको छ।
तर ७९ वर्षीय ट्रम्प भने अझै पनि टाइम हेर्छन्। आफ्नो आवरण तस्बिर कति पटक छापियो भनेर गनेर बस्छन्। कतिसम्म भने उनले टाइमको नक्कली आवरणका तस्बिर समेत ठूला बनाएर आफ्ना गल्फ रिसोर्टमा राख्ने गर्थे।
उनको पहिलो कार्यकालमा सन् २०१७ मा टाइमले त्यस्ता नक्कली आवरण हटाउन आग्रह नै गरेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)