नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ।
केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बस्दैछ।
केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू गर्ने तयारी छ। बैठक स्थलमा नेताहरू आउने क्रम जारी छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ।
सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्नेछन्।
यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे पनि धारणा राख्नेछन्।
जेनजी आन्दोलनका कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने केही केन्द्रीय सदस्यहरूले बताउँदै आएका छन्।
बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली उपस्थित भइसकेका छन् भने हलमा केन्द्रीय सदस्यहरू पनि उपस्थित भएका छन्। बैठक सुरू हुन केही समय लाग्ने भएको छ।
तस्बिरहरू:






