राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीका राजनीतिक वार्ता समितिको कामको संयोजन गर्न जिम्मा दिएको छ। शुक्रबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन गर्ने जिम्मा वाग्लेलाई दिएको प्रवक्ता मनिष झाले बताए।
‘वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति स्वर्णिम वाग्लेले गर्ने निर्णय गरेको छ,’ उनले भने।
त्यस्तै पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने तय भएको छ।
त्यसका लागि केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठकको व्यवस्थापन समिति गठन गर्ने निर्णय रास्वपाले गरेको छ।
बैठकले असोज तेस्रो साता भएको जल उत्पन्न विपद प्रभावित क्षेत्रमा पार्टी पंक्तिबाट भएको उद्धार तथा राहतकार्यमा भएको प्रशंसनीय प्रयासको लागि धन्यवाद दिँदै राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन पार्टी केन्द्रबाट समेत सक्दो प्रयास गर्ने निर्णय पनि गरेको छ।