पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिभन्दा बढी खटिएका सुरक्षाकर्मीहरू धमाधम फिर्ता हुन थालेका छन्।
गृह मन्त्रालयले बिहीबार कार्यविधिमा तोकिएभन्दा बढी खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो।
त्यसअनुसार पूर्वप्रधानमन्त्रीदेखि प्रदेश तहसम्म भिआइपीहरूसम्मको सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मीहरू धमाधम फर्किन थालेका हुन्।
विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू फर्किन थालेका हुन्।
विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा १८ जना खटिने गर्छन्। १६ जना सशस्त्र प्रहरी र दुई जना प्रहरीका कर्मचारी खटिने कार्यविधिमा उल्लेख छ।
तर त्यसमा भएको व्यवस्था विपरीत उच्च पदस्थका व्यक्तिहरूले बढी सुरक्षाकर्मीहरू राख्ने गरेको भन्दै आलोचना समेत हुने गरेको छ।
बिहीबार गृह मन्त्रालयले मापदण्डमा तोकिएभन्दा बढी खटिएका प्रहरी कर्मचारीहरूलाई फिर्ता गर्ने निर्णय गरेसँगै प्रहरी र सशस्त्र दुबै तर्फ फिर्ता भएका हुन्।
प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार २७६ जना प्रहरीका कर्मचारीहरू मापदण्ड भन्दा बढी खटिएका छन्। यो संख्या प्रदेशसम्म खटिएका प्रहरीहरू हुन्।
शुक्रबार बिहानसम्म एक सय बढी प्रहरी कर्मचारीहरू फर्किसकेको केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले बताए। त्यसबाहेक क्रमश: फर्किने क्रममा छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोमा अहिले दुई जना प्रहरी र १६ जना सशस्त्र प्रहरी गरी १८ जनामात्रै सुरक्षाकर्मी छन्। सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिने गरेको थियो।
त्यसबाहेक मापदण्ड विपरीत खटिएका १४ जना प्रहरी र १३ जना सशस्त्र प्रहरी गरी कुल २७ जना फिर्ता भएका छन्।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका लागि डिएसपीको कमाण्डमा २० जना प्रहरी खटिएका थिए। त्यहाँबाट पनि दुई जना मात्रै प्रहरी बाहेक बाँकी सबै फिर्ता भएका छन्। सशस्त्रका १४ जना पनि फिर्ता भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुरक्षामा १७ जना प्रहरी खटिएका थिए। सशस्त्र तर्फबाट करिब ३० जना रहेको स्रोतले बतायो। तर सशस्त्रतर्फका सुरक्षाकर्मीहरू भदौ २४ गतेको घटनापछि त्यही दिन फर्किएका थिए।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सुरक्षाका लागि प्रहरीबाट १२ जना थिए।
सोही पार्टीका सम्मानित नेता समेत रहेका झलनाथ खनालको सुरक्षाका लागि आठ जना प्रहरी थिए।
उनीहरू दुबै जनाको सुरक्षामा खटिएका सशस्त्र प्रहरी पनि भदौ २४ गते फर्किएका थिए।
पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले भने सुरक्षाकर्मीहरू मापदण्डअनुसार नै लिने गरेको प्रधान कार्यालय स्रोतले बतायो।
‘दुई जनाले मात्रै कार्यविधि अनुसारको सुरक्षाकर्मी लिएका छन्। अरूकहाँ अतिरिक्त नै छन्,’ स्रोतले भन्यो, ‘गृहको निर्णयले धमाधम फिर्ता हुन थालेका छन्। यकिन विवरण आएको छैन।’