नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कहिलेकाहीँ ज्योतिषीजस्तो लाग्ने बताएका छन्।
प्रेस सेन्टरले शुक्रबार आयोजना गरेको सम्पादकसँगको छलफलमा संयोजक प्रचण्डले आफूले जे भन्दै आएको हो त्यही पुगेकाले ज्योतिषीजस्तो लाग्ने बताएका हुन्।
‘तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने न्यारेटिभमा हाम्रो चित्त दुखेको छ। मलाई आफ्नै पुरानो भाषण सुनेँ भने ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले बेलाबेला ठूलो विद्रोह हुने बताउँदै आएका थिए।
जनताको असन्तुष्टि चुलिएकाले जनताले नागरिकले सिंहदरबार, बालुवाटार घेर्ने बताउने गरेका थिए। प्रचण्डको यही भनाइ टिपेर केही दिनअघि ओलीले पनि टिप्पणी गरेका थिए।
अध्यक्ष ओलीले बिहीबार मात्रै जेनजी अघि सारेर माअोवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दल आन्दोलनको पछाडि बसेकोसमेत आरोप लगाएका थिए।
अध्यक्ष प्रचण्डले जेनजीको मागमा आफूहरूको समर्थन रहेको पनि बताए। जेन–जी विद्रोहलाई सम्मान नगर्ने हो भने मुलुक पछाडि पर्ने उनको भनाइ थियो।
‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं। यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं,’ उनले भने।
उनले अहिलेको आवश्यकता फागुन २१ गते तोकिएको निर्वाचन सफल गराउनु नै रहेको उनको भनाइ थियो।
‘जेनजीले मागकै कारण नेतृत्व छोडेर महाधिवेशनमा जान लागेको हुँ। म निवृत्त जीवन बिताउन्न। तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन। पुरानो नेतृत्वले अब बिनाभूमिकामा काम गर्नेछ,’ उनले भने।