नेकपा (एमाले) को ५८ औं सचिवालयको बैठक शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरू भएको छ। बैठक अहिले मध्याह्नबाट सुरू भएको हो।
आज बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्नेछ। एमाले केन्द्रीय कमिटीको बैठक यही असोज २९, ३०, ३१ गते तय गरिएको छ।
यसका अतिरिक्त आज बस्ने बैठकमा सचिवालय सदस्यहरूले धारणा राख्नेछन्। गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोह, त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरिनुपर्ने बताउँदै आएका अधिकांश सचिवालय सदस्यहरूले आज धारणा राख्नेछन्।
कतिपय सचिवालय सदस्यहरूले आजको बैठकमा पार्टी पुनर्गठनको प्रस्ताव राख्ने समेत बताएका छन्।
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले अध्यक्ष ओलीले ‘स्टेप डाउन’ गर्नुपर्ने समेत बताइरहेका छन्।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई कसैले पनि राजीनामा दिनुपर्ने नभने पनि आज बस्ने बैठकमा त्यो विषय पनि उठ्ने सम्भावना रहेको एक नेताले बताए।
पार्टी पुनर्गठनको माग गर्नेहरूविरूद्ध संस्थापन पक्ष निर्मम टिप्पणी गर्दै आइरहेको छ। बिहीबार नै गुण्डुमा आयोजित कार्यक्रममा ओली पक्षका भनेर चिनिएका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले त त्यसरी पुनर्गठनको पक्षमा आवाज उठाउनेहरूलाई ‘प्रतिक्रियावादीका एजेन्ट’ को संज्ञा दिए। उनीहरू क्रमशः उदांगिँदै जाने पनि बताए।
सचिवालय र केन्द्रीय कमिटी बैठकअगाडि ओलीले सबै प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष, जिल्ला इन्चार्ज र अध्यक्षहरूसँग भर्चुअल छलफल गर्दै उनीहरूको सुझाव लिएका छन्। ती भर्चुअल छलफलमा अध्यक्ष ओलीले आफू शारीरिक रूपमा सक्षम हुँदासम्म नेतृत्व नछाड्ने स्पष्ट संकेत गरेका थिए।
आजको बैठकमा ती भर्चुअल छलफलबारे पनि ओलीले बताउने कार्यसूची रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।
यसैबीच एमालेले संसद पुनःस्थापनाको माग लिएर सडकमा जाने संकेत गरेको छ। त्यसका लागि तयार रहन अध्यक्ष ओलीले नै निर्देशन दिइसकेका छन्। त्यसबारे पनि आजको सचिवालय बैठकमा छलफल हुनेछ।

-1760078011.jpeg)



-1760078009.jpeg)
-1760078009.jpeg)