राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार दिउँसो ३ बजेसम्म बस्ने यो बैठक असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप नै बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको बैठकमा मूलतः तीन कार्यसूचीमाथि घनिभूत छलफल भइरहेको छ।
बैठकमा आगामी कात्तिक १४ र १५ गते बस्ने विस्तारित बैठकको कार्यसूचीबारे छलफल भइरहेको छ। विस्तारित बैठकले आगामी महाधिवेशनको टुंगो लगाउने छ। रास्वपाले फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। तर सरकारले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेकाले उक्त मितिमा महाधिवेशन गर्न नसकिने हुँदा अगाडि नै सार्नुपर्ने आवाज पनि उठिराखेको छ।
बैठकमा गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षा र त्यसपछि उत्पन्न विपदमा पार्टीको सक्रियता, गरेको काम र त्यसलाई आगामी दिनमा निरन्तरता दिनेबारे पनि छलफल भइरहेको छ।
यसैबीच गत भदौ २३ र २४ गतेको उथलपुथलकारी राजनीतिक परिघटना (जेनजी विद्रोह) पछि उत्पन्न परिस्थिति, समाजमा सद्भाव कायम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर रास्वपाले सद्भाव यात्रा गर्दैछ। आजको बैठकले त्यसबारे पनि निर्णय गर्नेछ।