नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा नियमित महाधिवेशन गर्ने गरी पार्टी अघि बढ्ने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘अब यो केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव म ल्याउँदिनँ, मंसिरमा चार वर्षे नियमित कार्यकाल सकिन्छ। अब नियमित महाधिवेशन हुन्छ नभए विशेष महाधिवेशन हुन्छ।’
उनले सकेसम्म नियमित महाधिवेशन गर्ने बताएका छन्।
‘हामी नियमित महाधिवेशनका पक्षमा छौं, तर कतिपयले क्रियाशील सदस्यता टुंगो लगाउन सक्नुभएन भनेर मलाई भन्नुभएको छ, त्यसो हो भने मंसिरमा विशेष महाधिवेशन हुन्छ,’ उनले भने।
विशेष महाधिवेशनका लागि कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरिरहेका छन् र ४० प्रतिशत कटेको दाबी भइरहेको छ।
असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बसेको थियो। नेताहरूले बोल्ने क्रम जारी रहेकोले भोलि पनि बैठक बस्नेछ।
महामन्त्री थापाले मंसिरमा नियमित महाधिवेशन गर्ने गरी खाकासमेत प्रस्तुत गरेका छन् र यो केन्द्रीय समितिमा पनि पेस गर्ने तयारीमा उनी छन्।
आजको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित थिएनन्। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा संस्थापनपक्षका केही नेताहरूले भने मंसिरमा नियमित महाधिवेशन गर्न गाह्रो हुने बताएका थिए। तर महामन्त्री थापाले अब यो कार्यसमितिको म्याद थप नहुने बताएका छन्।
यो पनि:
देउवा नेतृत्वको यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ: गगन थापा
गगनको प्रस्तावमा विश्वप्रकाशको समर्थन, भने- नियमित नगर्ने भए विशेष महाधिवेशन गरौं