इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।
इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिएका छन्।
ट्रम्पले आजको दिनलाई विशेष दिन समेत भनेका छन्। ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टेलिफोनमा एक अर्कालाई बधाइ समेत दिएका छन्।
गजामा २ वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव राखेर युद्धविरामको पहल गरेका थिए।
अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्ने सम्भावना छ।
सहमति अनुसार ७२ घन्टाभित्र सबै बन्धकहरु हमासले छाड्नुपर्नेछ। अक्टोबर ७, २०२३ मा बन्धक बनाएर गजा पुर्याइएका २५१ जनामध्ये अझै ४८ जना बन्धकहरू हमासकै नियन्त्रणमा छन्। तीमध्ये २० जना जिवित रहेको अनुमान छ।
इसराइलले युद्धविराम सम्झौता भएको विषय मन्त्रिपरिषदमा लैजान्छ। त्यहाँबाट पारित भएपछि सहमतिअनुसार प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने रोयटर्सले जनाएको छ।
यस्तो छ ट्रम्पले प्रस्ताव गरेका २० बुँदा
१. गाजालाई आतंकमुक्त र चरमपन्थी गतिविधिबाट मुक्त क्षेत्र बनाइनेछ।
२. गाजाको पुनर्निर्माण गाजावासीको हितका लागि गरिनेछ।
३. दुवै पक्षले सहमति गरे युद्ध तुरुन्त अन्त्य गरिनेछ।
- इसराइली सेना सहमत रेखासम्म फिर्ता हुनेछ र बन्धक मुक्त गर्ने तयारी हुनेछ।
यस अवधिमा सबै सैन्य कारबाही हवाई र जमिनबाट हुने आक्रमण रोकिनेछ।
४. इसराइले प्रस्ताव स्वीकृत गरेको ७२ घण्टा भित्र सबै बन्धकहरू फिर्ता गरिनेछन्।
५. सबै बन्धक फिर्ता भएपछि इसराइलले २५० आजीवन कैदी र १७०० गाजावासी बन्दीलाई मुक्त गर्नेछ।
-यीमध्ये अक्टोबर ७, २०२३ पछि पक्राउ परेका महिला र बालबालिका पनि हुनेछन्।
-प्रत्येक मृत इसराइली बन्धकको सट्टा १५ जना मृत गाजावासीका शव फिर्ता गरिनेछ।
६. बन्धक फिर्ता भएपछि हमासका सदस्यहरूलाई आममाफी दिइनेछ।
-जसले शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्छन् र हतियार बुझाउँछन्, तिनीहरूलाई माफी दिइनेछ।
-जो गाजाबाट बाहिर जान चाहन्छन्, उनीहरूलाई सुरक्षित बाटो दिइनेछ।
७. सम्झौता स्वीकृत भएपछि तुरुन्तै गाजामा पूर्ण मानवीय सहायता पठाइनेछ।
८. सहायता वितरण संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमार्फत हुनेछ।
९. गाजाको शासन अस्थायी रूपमा एक प्राविधिक (टेक्नोक्र्याटिक) प्यालेस्टिनी समितिले गर्नेछ।
१०. यो समितिको निगरानी ‘बोर्ड अफ पिस’ नामक अन्तर्राष्ट्रिय निकायले गर्नेछ।
-यो निकायको नेतृत्व र अध्यक्षता डोनाल्ड ट्रम्पले गर्नेछन्।
-अन्य सदस्यहरूमा राष्ट्र प्रमुखहरू र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि रहनेछन्।
११. ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माणका लागि आर्थिक र संस्थागत ढाँचा बनाउनेछ।
१२. ट्रम्पले गाजाको आर्थिक विकासका लागि विशेष योजना घोषणा गर्नेछन्। यो योजना मध्यपूर्वका सफल आधुनिक सहरहरू विकास गर्न सहयोग गरेका विशेषज्ञहरूको टोलीले तयार गर्नेछ।
१३. गाजामा विशेष आर्थिक क्षेत्र (स्पेसल इकोनोमिक जोन) स्थापना गरिनेछ।
१४. कसैलाई गाजाबाट जबरजस्ती निकालिने छैन।
-जो बाहिर जान चाहन्छन्, उनी स्वतन्त्र हुनेछन् र फर्किन पनि स्वतन्त्र हुनेछन्।
-मानिसहरूलाई गाजामा बस्न र राम्रो भविष्य निर्माण गर्न प्रोत्साहित गरिनेछ।
१६. हमास र अन्य समूह शासनमा सहभागी हुन पाउने छैनन्।
-प्रत्यक्ष वा अप्रत्यक्ष कुनै रूपमा शासनमा उनीहरूको भूमिका रहने छैन। सबै सैन्य, आतंक र आक्रमण संरचना जस्तै सुरुङ र हतियार कारखाना — नष्ट गरिनेछ।
-गाजाको निरस्त्रीकरण प्रक्रिया हुनेछ।
१७. क्षेत्रीय साझेदार देशहरूले हमास र अन्य समूहले सम्झौता पालन गर्छन् भन्ने सुनिश्चित गर्ने ज्ञारेन्टी दिनेछन्।
१८. संयुक्त राज्य अमेरिका, अरब र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर अस्थायी अन्तर्राष्ट्रिय स्थायित्व बल (आइएसएफ) स्थापना गर्नेछ।
-यो बल तुरुन्तै गाजामा पठाइनेछ, जसले फिलिस्तीनी प्रहरीलाई तालिम र सहयोग प्रदान गर्नेछ।
-यो बलले जोर्डन र इजिप्टसँग परामर्श गर्दै काम गर्नेछ।
१९. इसराइलले गाजालाई न कब्जा गर्नेछ न आफ्नो भूभागमा मिलाउनेछ।
-आइएसएफले स्थायित्व कायम गरेपछि इस्रायली सेना चरणबद्ध रूपमा फिर्ता हुनेछ।
-फिर्ती तालिका र मापदण्ड आइएसएफ, आइडिएफ, ग्यारेन्टर देशहरू र अमेरिकाबीच सहमतिपूर्वक तय गरिनेछ।
२०. यदि हमासले प्रस्ताव ढिलो गर्छ वा अस्वीकार गर्छ भने पनि सहायता र पुनर्निर्माण अघि बढ्नेछ।