नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
एमाले मधेश प्रदेश सभा संसदीय दलको कार्यालयले प्रदेश प्रमुखको कार्यालयको इमलेबाट सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पठाएको छ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले एमाले संसदीय दलको कार्यालयबाट दलका नेता सरोज कुमार यादवद्वारा हस्ताक्षरित पत्र इमेल मार्फत् प्राप्त भएको जानकारी दिए।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा भनेर आजकै मितिमा मेल आएको छ, संसदीय दलका नेता माननीय सरोजकुमार यादवको हस्ताक्षर छ,’ उनले भने।
पत्रको हार्डकपी पनि पठाइदिनुस भनेर अनुरोध गरिएको उनले बताए। यसअघि नै नेपाली कांग्रेस र जनमत पार्टीले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जनमतले आफ्नै नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री सहित मन्त्रीलाई फिर्ता बोलाएको थियो। पार्टीले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन भने पनि उनले संसद फेस गर्ने बताउँदै राजीनामा दिएका छैनन्। मधेस प्रदेशमा सरकारको नेतृत्व परिवर्तनका लागि छलफल भइरहेको छ। एमालेसहित दलको समर्थनमा गत वर्ष सिंह मुख्यमन्त्री बनेका थिए।