डिजेलको भाउ बढाएको विरोध गरेका प्रदर्शनकारीले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआको गाडीमा मङ्गलबार ढुङ्गामुढा गरे भने उनको गाडीमा गोली लागेको दाबी गरिएको छ।
वातावरण तथा ऊर्जा मन्त्री इनेस मान्जानोका अनुसार दक्षिणी क्यानार प्रान्तमा करिब ५०० प्रदर्शनकारीको समूहले राष्ट्रपति नोबोआको गाडीमा अक्रमण गरे।
गाडीमा गोलीका दागहरू देखिएको भए पनि नोबोआ सुरक्षित रहेको मन्त्री मान्जानोले बताए भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
'राष्ट्रपतिको गाडीमा गोली हान्नु, ढुङ्गा फाल्नु, सरकारी सम्पत्तिमा क्षति पुर्याउनु— यो आपराधिक कार्य हो,' मान्जानोले एक विज्ञप्ति निकाल्दै भने।
पाँच जनालाई पक्राउ गरिएको र उनीहरूविरूद्ध आतंकवाद र हत्या प्रयासको आरोपमा मुद्दा चलाइने मान्जानोले थपे।
इक्वेडरमा १६ दिनअघि इन्धन अनुदान हटाएपछि प्रदर्शन सुरु भएको थियो।
नोबोआको सरकारले देशको अर्थतन्त्रलाई सुदृढ पार्नका लागि इन्धन अनुदान कटौती गरेका थिए। त्यसकारण उपभोक्ताका लागि डिजेलको मूल्य ५० प्रतिशत भन्दा धेरैले बढेको थियो।
इक्वेडरको राष्ट्रिय आदिवासी महासङ्घको नेतृत्वमा भएका राष्ट्रव्यापी हडतालहरूमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबीच झडप हुँदा देशभर सडक अवरोधहरू गरिएको छ।
शनिबार नोबोआले राजधानी क्विटोसहित १० प्रान्तमा सङ्कटकाल घोषणा गरेका थिए।
यसअघि सेप्टेम्बर २८ मा नोबोआको मोटरकेडलाई उत्तरी इम्बाबुरा प्रान्तमा पेट्रोल बम प्रहार गरिएको थियो।
नोबोआले हडताल प्रभावित समुदायहरूलाई सहयोग पुर्याउने क्रममा आक्रमण भएको त्यति बेला एक सरकारी प्रवक्ताले बताएका थिए।
सो घटनाका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीचको झडपमा एक नागरिकको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)