निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।
आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।
कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
त्यस्तै, निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका संकलनपछि मतगणना सुरू गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।