राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनबारे सरकारलाई २२ बुँदे सुझाव प्रस्तुत गरेको छ।
आइतबार साँझ बसेको भर्चुअल बैठकको आधारमा सरकारलाई सुझाव दिइएको प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले राष्ट्रिय स्तरमा जलवायु अनुकूलन र विपद् प्रतिकार्य गुरू योजना (२०८२–२०९२) तयार गरी, सबै क्षेत्रीय र स्थानीय योजना त्यससँग मिलान गर्ने व्यवस्था गर्न आग्रह गरेको छ।
सबै ७७ जिल्लामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डिआरआरएम)स्थापना गरी स्थानीय स्तरमै प्रारम्भिक चेतावनी, राहत, पुनर्निर्माण र जनसहभागिता प्रणाली एकीकृत गर्न सुझाव दिएको छ।
प्रत्येक तहमा विपद जोखिमको अवस्था हेरी राष्ट्रिय आपतकारी राहत तथा पुनःस्थापना कोष स्थापना गरी तुरुन्त प्रयोग गर्न सकिने कोष सुनिश्चित गर्न आग्रह गरेको छ।
संघीय र प्रदेश सरकारबीच राष्ट्रिय आपतकालीन समन्वय प्रणाली लागू गर्ने, ताकि सूचनाको प्रवाह र निर्णयमा ढिलाइ नहोस् भन्नेमा चनाखो हुनुपर्ने उसको भनाइ छ।
‘राजनीतिक दल, नागरिक समाज, मिडिया र निजी क्षेत्रबीच समन्वय स्थापित हुने मञ्च गठन गर्ने, ताकि संकटका बेला सबै संयन्त्र एकताबद्ध रूपमा काम गर्न सकून्,’ उसले भनेको छ।
यस्तै राष्ट्रिय विपद् प्रतिक्रिया नीतिलाई अद्यावधिक गरी जलवायु अनुकूलन र पुनःस्थापना कार्यक्रमलाई केन्द्रमा राख्न पनि आग्रह गरेको छ।


