जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडिपी) सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने भएको छ।
सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची शनिबार तेस्रो प्रयासमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन्।
संसदमा एलडिपीको बहुमत नभए पनि उनलाई संसदले प्रधानमन्त्री अनुमोदन गर्ने अपेक्षा गरिएको छ।
अनुमोदन गरेपछि परम्परावादी सोच भएको जापानको उनी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्।
एलडिपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा इशिबाले राजीनामा दिएका थिए।
स्थानीय मिडियाका सर्वेक्षणहरूले चाँडो चुनावको पक्षमा जनमत बढेको देखाएकाले यो मतदान प्रधानमन्त्रीप्रति अविश्वासको प्रस्तावमा परिणत हुने सम्भावना थियो।
गत अक्टोबरमा प्रधानमन्त्री बनेका इशिबाको कार्यकालमा पार्टीले संसदका दुवै सदनमा आफ्नो बहुमत गुमाएको थियो।
पार्टीको प्रतिस्पर्धामा जित्ने व्यक्तिले प्रधानमन्त्री बन्न संसदमा बहुमत सिद्ध गर्नुपर्नेछ। आफ्नो बहुमत गुमाए पनि, एलडिपीको सत्तारूढ गठबन्धनको तल्लो सदनमा सबभन्दा बढी सिट रहेकाले यसको उम्मेदवारले प्रधानमन्त्री जित्ने सम्भावना बढी छ। जितको ग्यारेन्टी भने छैन।
परम्परागत रूपमा, संसदमा एलडिपीको वर्चश् ले यसको नेता नै प्रधानमन्त्री बन्ने सुनिश्चित गर्थ्यो। तर लगातार चुनावमा हार, कमजोर जनादेश र कुनै पनि सदनमा बहुमत नभएकाले, एलडिपीको नेता प्रधानमन्त्री बन्न असफल हुने झिनो सम्भावना पनि छ।
त्यो सम्भावना विपक्षी दलहरूले अर्को उम्मेदवारलाई प्रधानमन्त्री बनाउन गठबन्धन गर्छन् कि गर्दैनन् भन्नेमा निर्भर हुनेछ। यदि यस्तो भयो भने, जापानले सन् २०१२ यता पहिलो पटक गैरएलडिपी प्रधानमन्त्री पाउनेछ। अहिलेका लागि त्यो सम्भावना टाढा भएकाले टाकाइची नै प्रधानमन्त्री हुने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)