संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन्।
संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ८०औं अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो।’
सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ।
नेपाली युवा पुस्ता (जेन–जेड) ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए।
नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए।
संयुक्त राष्ट्रसंघलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उनले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्रसंघ र यसको ‘चार्टर’ लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे।
उनले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछिको सात दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे।
‘राष्ट्रसंघको आह्वानअनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रूपमा नेपाल रहेको छ,’ स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन्।’
-रासस