नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्काको सिफारिस गर्ने निर्णयको आपत्ति जनाएको छ।
संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै ओलीको राहदानी रोक्का गर्ने निर्णमाथि आपत्ति जनाएको छ।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको सिफारिस गरेको बताएका छन्।
‘वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्ग छ।’
त्यस्तै युवा संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाएको छ।
‘कमरेड महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएका छन्। यस प्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन हामी जोडदार माग गर्दछौं र यस प्रकारका गतिविधि वर्तमान सरकारलाई प्रत्युपादक हुने कुरामा समेत सचेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित समाचार: एमाले नेता महेश बस्नेतमाथि साइबर अपराधमा अनुसन्धान गर्दै ब्युरो
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक सहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस
