नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।
लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए।
राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गइरहेको उनले बताए।
जेनजी आन्दोलनबाट भएका घटनाहरू आफ्ना लागि नयाँ नभएको उनले बताए।
आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनले बताए।
उनले भने, ‘राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालका दुर्दिनहरू अझै बाँकी छन्। लामो समयदेखि मुलुक दुर्घटनातर्फ जाँदैछ। राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गइरहेको छ। राजनीतिक पार्टीभित्र सम्भवतः सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरू नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म। अहिले जे घटनाहरू घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन। कसको घर जल्यो, कुन घर जल्यो भन्ने मात्रै फरक हो। नत्र भने घरहरू जल्छन् भन्नेकुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्नेकुरा देखिन्थ्यो। त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ।’
महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरूको घरानामा मात्रै सीमित रहेको बताए।
राजनीतिक पार्टीहरूमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरू संकट थपिने स्थिति रहेको बताए। —न्युज एजेन्सी नेपाल