नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नै नभएको बताइरहेका बेला पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा पनि केन्द्रीय सदस्यहरू खुलेका छन्।
केन्द्रीय सदस्यहरू युवराज बास्कोटा, रामलाल साह, सिर्जना राई, शिव सुवेदी, कैलाश ढुंगेल, पार्वती रावल लगायत नेताहरूले आफूलाई भण्डारीको पक्षमा उभ्याएका हुन्।
मोरङबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य युवराज बास्कोटाले विधानबाट दुई कार्यकाल हटाउने विषयमा प्रश्न उठाउँदै त्यसलाई कायम राख्नुपर्ने, राजनीतिक कामको मात्र दुई कार्यकाल नभई राजकीय जिम्मेवारीको पनि दुई कार्यकाल तोक्नुपर्ने बताएका छन्।
अहिले ओली र भण्डारीका नाममा पार्टी तलसम्मै विभाजित बनेको उनले उल्लेख गरे।
'तपाईं दुई जना कमरेड केपी शर्मा ओली र विद्यादेवी भण्डारी आजका दिनसम्म यो पार्टी निर्माणमा एक सिक्काको दुई पाटा हो। तर तल–तलसम्म पार्टीलाई चिरा पारिएको छ। परस्पर असहयोग छ, मोरङको लेटाङ नगरमा अहिलेसम्म अधिवेशन हुन सकेको छैन,' उनले भने।
अध्यक्षले सहज नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क अघि सार्दा अध्यक्ष विरूद्धको फत्तुर लगाइएको भन्दै उनले असन्तोष प्रकट गरेका छन्।
पूर्व राष्ट्रपति भण्डारीको पक्षमा खुल्दै उनले भने, 'एउटा कुनै वडाध्यक्ष पार्टी प्रवेश गर्दा हामीमा अगाध खुसी छाएको हुन्छ। राष्ट्रिय समाचार बन्छ। पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषय आलोचना, विरोध, निन्दाको शिकार बन्छ। यो संगतियुक्त र युक्तिसंगत भएन।'
एकले अर्कोलाई निषेध गरेर पार्टी बलियो नहुने पनि उनले बताए।
'नेतृत्व कुरौटेको झुण्डबाट बच्नुपर्छ। भूगोलको भूमिकाविहीनले तपाईं नेतालाई कार्यकर्ताबाट टाढा गर्दैछ। कतिपय बेलामा प्रकट हुने शैली र आचरण सुधारमा ध्यान दिन जरूरी छ,' उनले भने, 'विद्यादेवी भण्डारीको विषय यान्त्रिक वा प्राविधिक होइन, सम्पूर्ण रूपले राजनीतिक विषय हो। यस कारण कार्यकर्ताले नेतृत्वको धार खोजेको होइन, राजनीतिक योजनाको सार खोजेको हो।'
उनले यसतर्फ नेतृत्वको ध्यान जान जरूरी रहेको बताए।
संविधान सभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङ सहितको व्यवस्थापनमा स्थापित नजिरहरू के छन्, जबजको बहुआयामिक विधाअन्तर्गत स्थापित पार्टी जीवनको लोकतान्त्रीकरणको प्रक्रिया अहिले कहाँ छ, हामी कहाँ छौं भन्नेबारे समीक्षा नगरीकन अगाडि बढ्न सकिएला र भनेर उनले प्रश्न पनि गरे।
अहिले भण्डारीमाथि हिलो छ्याप्ने काम भइरहेको भन्दै उनले आपत्ति पनि जनाए।
'भन्दा सेनाको परमाधिपति भन्ने तर व्यवहारमा बाटो बाटै हिलो छ्याप्ने, तेजोबध गर्दै हिड्ने विषय युक्तिसंगत छैन,' उनले भने, 'यसमा नेतृत्वले अविलम्ब ध्यान दिनुपर्छ।'
मंगलबारको बैठकमा बोलेका मोरङबाटै केन्द्रमा प्रतिनिधित्व गर्ने रामलाल साहले पहिले ओलीका बारेमा पनि अनेक आरोप लगाइएको स्मरण गर्नुपर्ने उल्लेख गरे।
'बिरामी ओली पार्टीमा आए एमाले सकिन्छ भन्नेहरू अहिले विद्या पार्टीमा आए पार्टी सकिन्छ भनिरहेका छन्,' साहले भने, 'पार्टी नेतृत्वले मात्रै होइन, नीतिमा सुस्पष्टता भए विद्याले राम्रोसँग चलाउन सक्नुहुन्छ।'
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शिव सुवेदीले पार्टीमा कमिटी प्रणाली नचलेको भन्दै कमिटी प्रणाली बलियो पार्नुपर्ने प्रस्ताव गरेका थिए।
'अहिले संगठन चलेन। जताततै केन्द्रीय अध्यक्ष हावी हुनुभयो। उहाँको नाममा रजगज चल्यो,' उनले भने, 'यो विषयको निर्मम समीक्षा हुनुपर्छ।'
केन्द्रीय सदस्य कैलाश ढुंगेलले भण्डारीलाई राष्ट्रपति पार्टीले बनाएको उल्लेख गरे।
'उहाँलाई पार्टीले, केपी शर्मा ओलीले बनाएको हो। हामीले बनाएको हो। उहाँले यसबीच प्राप्त गर्नुभएको ज्ञान र अनुभवलाई हामीले पार्टी निर्माणमा प्रयोग गर्नुपर्छ,' उनले भने।
लुम्बिनीकै पार्वती रावलले भण्डारी नेपाल कम्युनिस्ट आन्दोलनको सग्लो र सर्वाधिक अग्लो सम्पत्ति भएको दाबी गरिन्।
'उहाँलाई नजर अन्दाज गरेर होइन, पार्टीले आफ्नो आवश्यकता अनुसार पुँजीकृत गर्नुपर्छ,' उनले भनिन्।
धनकुटाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सिर्जना राईले भण्डारी हिजो पनि एमालेको नेता रहेको र आज पनि नेता नै रहेको भन्दै उनलाई छेक्न नहुने मत प्रकट गरेकी थिइन्।