नेकपा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीमा नि:शर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने बताएकी छन्।
सोमबारदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा मंगलबार बोल्दै उनले कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाउनुपर्ने पनि बताएकी छन्।
एमाले मुख्यालय बनाउनका लागि व्यापारी मीनबहादुर गुरूङको सहयोगबारे सामाजिक सञ्जालबाट प्रश्न गर्दा पार्टीबाट निलम्बनको सजाय भोगिसकेकी तिम्सिनाले पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रिया नि:शर्त हुनुपर्ने आवाज उठाएकी हुन्।
उनले एमाले विधानको धारा ६४ कायम राख्न माग गर्दै भनिन्, ‘कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाऔँ।’
अध्यक्ष ओलीले दुई कार्यकाल पार्टी चलाइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो।’
‘अध्यक्ष कमरेड र महासचिव कमरेडहरूले पेस गर्नु भएको मौखिक प्रतिवेदनमा मेरो आलोचनात्मक समर्थन छ,’ केन्द्रीय बैठकमा बोल्दै उनले भनिन्, ‘एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुगेको कुरा त्यति शोभनीय लागेन। र मौखिक भाषण गर्दा पेस गर्नु भएका दाबीहरू अपूरा छन्।’
‘पार्टी कमिटीभित्र तपाईंहरूले पेस गर्नु भएका कुराहरू समाजमा मेल खाँदैनन्,’ भन्दै तिम्सेनाले भनेकी छन्, ‘काठमाडौंमा प्रतिगामीहरूको जुन खालको प्रदर्शनहरू भए र जसरी प्रतिगामीहरूको उदय भएको छ, यसलाई नेतृत्वले जति गम्भीरतापूर्वक लिनुपर्थ्यो त्यति गम्भीर नभएको जस्तो लागेको छ। सिंगो केन्द्रीय कमिटीका अध्यक्षदेखि केन्द्रीय सदस्य सम्मलाई आग्रह र अनुरोध गर्न चाहन्छु।’
उनले कोअर्डिनेसन केन्द्रदेखिका नेताहरू रहेको र आपसी समझदारीमा जो अध्यक्ष भए पनि कमिटी मातहत रहेर पार्टी चल्ने कुराको ग्यारेण्टी अबको विधानले निर्धारण गर्नुपर्ने मागसमेत गरेकी छन्।
उनले पार्टी विधानमा एउटा अपरिहार्य बुँदा थपिनु पर्ने माग गर्दै भनिन्, ‘संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागिकन खोस्न नपाइने व्यवस्था कायम गरियोस्।’
उनले भीम रावलको सदस्यता खोसिएकोमा यसअघि पनि असन्तोष जनाएकी थिइन्। उनले पार्टी नेतृत्वलाई अर्को प्रश्न पनि गरिन्।
‘सधैं पार्टी घेराबन्दीमा पर्यो– पर्यो भनिन्छ। पार्टी सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छ?,’ उनको प्रश्न थियो, ‘यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो?’
उनले मिसन ८४ भनिरहेकोबारे पनि प्रश्न गरेकी थिइन्।
‘हामी मिसन ८४ भनिरहेका छौं, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका छौं,’ उनले सोधेकी छन्, ‘अनि जनतालाई ८४ देखाएर हुन्छ? आज हामी के गर्दैछौं भन्ने कुरा मुख्य होइन र?’