प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमै भेटवार्ता हुन लागेको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय राजकुमार राईले जानकारी दिए।
‘उहाँहरूबीच आज भेटवार्ता तय भएको छ,’ उनले सेतोपाटीसँग भने।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ताबारे औपचारिक जानकारी नआएको बताए।
पूर्वराष्ट्रपति भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किए पनि एमालेले उनको सदस्यता 'पेन्डिङ'मा राखेको छ।
पोलिटब्युरोको चौथो बैठकमा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए।
भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको विषयमा अध्यक्ष ओलीले छलफल गर्ने बताएका थिए।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा उनीहरूबीच छलफल हुन लागेको हो।
एमाले केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ।
यो पनि: ओलीले विद्या भण्डारीलाई रोक्नुपर्छ भन्दा युवराज ज्ञवालीको प्रतिवाद