तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनमा अदालतबाट दोषी ठहर भएका अध्यक्ष केदारनाथ शर्मासहितका तीन जनालाई बिहीबार सजाय पनि निर्धारण भएको छ।
मोरङ जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्माविरूद्ध ६ वर्ष कैद सजाय र ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र बिगो बराबरकै रकम जरिवाना पनि तोकेको छ।
जिल्ला अदालतका स्रेस्तेदार मणि पोखरेलले दिएको जानकारी अनुसार सहकारीका अध्यक्ष शर्मालाई पीडित राहतकोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ।
सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई दुई वर्ष २ महिना कैद सजाय सुनाएको अदालतले २७ लाख रुपैयाँ बिगो र त्यत्ति नै जरिवाना तोकेको छ। खवासलाई पीडित राहत कोषमा एक लाख ८ हजार रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको छ।
त्यसैगरी सहकारीकी सचिव सबिना न्यौपानेलाई दुई वर्ष कैद र राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्न अदालतले आदेश दिएको छ।
२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको स्वामित्व २०७२ सालमा दाङका बासिन्दा केदारनाथ शर्माले खरिद गरेका थिए। विराटनगरमा प्रधान कार्यालय राखेर सहकारी चलाइरहेका उनीसहितका पदाधिकारी र कर्मचारीहरूले बचतकर्ताको ठूलो रकम हिनामिना गरेका थिए। मोरङ जिल्ला अदालतले शर्मासहित सचिव सबिना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको थियो।
न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले गत आइतबार उनीहरूलाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको हो। ठगी मुद्दामा दोषी ठहर भए पनि उनीहरूलाई सजाय निर्धारण भने भएको थिएन। बिहीबार सजाय निर्धारण भएको हो।
तुलसी बहुमुखी सहकारी ठगी प्रकरणमा आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको थियो। तीमध्ये ६ जना अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएकामध्ये सहकारीका उपाध्यक्ष अनीता गौतम, सञ्चालकहरू आदित्यनाथ भट्टराई र निर्मला पोखरेललाई भने अदालतले सफाइ दिएको छ। यो प्रकरणमा संलग्न भनिएका दुई जना अझै फरार छन्।
विराटनगरमा केन्द्रीय कार्यालय भएको यो सहकारीले झापाको दमक, उदयपुरको गाइघाट, र सिरहाको गोलबजारमा शाखा स्थापना गरेर २१ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ हिनामिना गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो। २०७९ साल चैत १२ गते मोरङ अदालतमा सहकारी संस्थाको रकम हिनामिना गरेको कसुरमा मुद्दा दायर भएको थियो।
अदालतबाट दोषी ठहर भएका तीनै जना पुर्पक्षका लागि यसअघिदेखि नै थुनामा छन्।
तुलसी सहकारीका अध्यक्ष शर्मा भक्तपुरको शिवशिखर सहकारीको रकम अपचलन प्रकरणको पनि आरोपीसमेत हुन्।
बचतकर्ताहरुका अनुसार विराटनगरको विराट नर्सिङ होमनजिकै कार्यालय राखेर सञ्चालित तुलसी सहकारीका सञ्चालकहरुको मात्रै होइन, कर्मचारीहरूको शैली पनि अस्वाभाविक थियो। बचतकर्ताहरूका अनुसार अध्यक्ष शर्मा, सचिव न्यौपानेसहितका सञ्चालकहरू फेरि–फेरि गाडी किन्ने, ठाउँ ठाउँमा नयाँ व्यापार र कम्पनी खोल्ने गर्थे। ती सबै ठाउँमा उनीहरूले सहकारीमै जम्मा भएको रकम गैरकानुनी रूपमा लगानी गरेका थिए।
‘अफिसमा पुग्दा पनि हामीसँग राम्रोसँग बोल्दैनथे, महिनैपिच्छे नयाँ–नयाँ कार कुदाइरहेका हुन्थे,’ २०७९ मा जिल्ला प्रहरीमा उजुरी दिन भेला भएका बचतकर्ताहरू भन्थे ‘चिया खाजा खान त्यहाँका कर्मचारीहरू सामान्य होटल पनि जाँदैनथे। सबै हाम्रै पैसामा मस्ती गर्दारहेछन् । ढिलो थाहा पाएर डुबिने भयो।’ त्यसबेला यसो भनेर गुनासो गर्ने सयौं सर्वसाधारणको रकम कसरी पुर्ताल हुन्छ भन्ने टुंगो भने अझै लागेको छैन।
सहकारीका अध्यक्ष शर्मा र सचिव न्यौपाने पति पत्नी हुन्। तर, सहकारीको विवाद सुरू भएपछि उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए। सहकारीमा जम्मा गरेको रकम बचतकर्ताहरुले फिर्ता पाउन छाडेपछि २०७९ तिरबाट तुलसी सहकारीको रकम अपचलनको घटना बाहिर आएको थियो। सिटी सफारी चलाउनेहरुदेखि मजदुरी गरेर थोरै जम्मा गर्ने सर्वसाधारणले प्रहरीमा उजुरी दिएपछि तुलसी सहकारीको ठूलो रकम अपचलनको घटना सार्वजनिक भएको थियो।
विराटनगरमा मात्रै १० हजार भन्दा बढी बचतकर्ता थिए भने ६ हजार ९६८, गाइघाट शाखामा ३ हजार ३ सय ३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ जना बचतकर्ता रहेको पाइएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख भए अनुसार सहकारीको विराटनगर कार्यालयले मात्रै ६० करोड ४१ लाख ८ हजार बचत रकम संकलन गरेको थियो भने दमकमा ६० करोड ७२ लाख गाइघाट २३ करोड ६६ र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन भएको प्रहरी प्रतिवेदनमा देखिएको थियो। प्रहरीका अनुसार सर्वसाधारणबाट सहकारीमा संकलित रकमबाट शर्माले ४१ करोडभन्दा बढी रकम आफ्ना कम्पनीमा लगाएका थिए।
‘सहकारीमा जम्मा भएको रकम गैरकानुनी रूपमा आफ्नो निजी कम्पनीमा लगानी गरेको पाइएको’ उल्लेख गर्दै प्रहरी प्रतिवेदनमा भनिएको थियो ‘सर्वसाधारणको रकमकै आडमा महिनैपिच्छेजसो नयाँ गाडी खरीद गर्ने, महँगो जीवनशैली अपनाएको देखिएको छ।’ यी सबै विलासिताको एक मात्र स्रोत सहकारीकै रकम थियो।