भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि सडकदेखि सदनसम्मको माहोल गर्माएको छ। नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले सत्ता गठबन्धनविरूद्ध दबाब बढाउँदै लगेका छन्।
यही घटनाले पनि नेपाली कांग्रेसका दुई नेता शेखर कोइराला र शशांक कोइरालाबीच राजनीतिक दुरी बढाएको छ।
कांग्रेसभित्र कोइराला परिवारको विरासत धानिरहेका दुई दाजुभाइबीच पछिल्लो समय सम्बन्ध हार्दिक हुन सकेको छैन।
कांग्रेसभित्र कोइराला परिवारका सबै सदस्य एकै ठाउँ हुनुपर्ने कामना गर्नेहरू धेरै छन्। तर दाजुभाइबीचको राजनीतिक सम्बन्ध कोइराला परिवारका शुभचिन्तकले चाहे जस्तो सहज बन्न सकेको छैन। भिजिट भिसा प्रकरणले त दुई दाजुभाइलाई आमनेसामने जस्तो बनाइदिएको छ।
त्यसो त कोइराला दाजुभाइबीचको राजनीतिक सम्बन्ध २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनदेखि नै सुमधुर थिएन। महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य शेखर, शशांक र सुजाता कोइराला तीनतिर उभिए। शेखर सभापतिको प्रतिष्पर्धी हुँदा शशांक केन्द्रीय सदस्य मात्रै उठे भने सुजाता उपसभापति उम्मेदवार भइन्।
शशांकले लोकप्रिय मतसहित चुनावी सफलता प्राप्त गर्दा शेखर सभापतिमा हारे, सुजाताले पनि जित्न सकिनन्। त्यसयता चिसिएको कोइराला परिवारको सम्बन्ध सुधार हुन पाएकै थिएन। गृहमन्त्री प्रकरणले शेखर र शशांकलाई थप टाढिने स्थितिमा पुर्याएको छ।
केही समययता सुजाता र शेखरबीचको सम्बन्धमा भने सुधार आएको देखिन्छ। १५ औं महाधिवेशनबाट शेखरलाई सभापति बनाउन आफू उभिने सुजाताले घोषणा गरिसकेकी छन्।
गिरिजाप्रसाद पुत्री सुजाता र केशव–नोना पुत्र शेखरबीचको सम्बन्ध सुध्रिएका बेला बिपी पुत्र शशांकको भने यी दुईसँगको दुरी निरन्तर बढ्ने क्रममा छ।
भिजिट भिसा प्रकरणमा शेखरले गृहमन्त्री रमेश लेखकले 'म पद छाडिदिन्छु, छानबिन गर' भन्नुपर्ने अभिव्यक्ति दिएका छन्। शेखरले गृहमन्त्रीको राजीनामा मागेको भन्दै पार्टीभित्रका केही नेता खुसी छैनन्।
शशांक पनि गृहमन्त्री लेखकको बलियो प्रतिरक्षामा उभिएका छन्। अझ गृहमन्त्री लेखकको राजीनामा माग्ने शेखरसँग सभापतिले स्पष्टीकरण सोध्नुपर्ने कुरा सार्वजनिक गरेर शशांक शेखरविरूद्ध उभिएका हुन्।
यसले दाजुभाइको बढेको दुरीमा आगोमा घिउ हाल्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्।
गत सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो। बैठकमा भिजिट भिसा प्रकरणमा अध्यागमनमा भइरहेको अवैध असुली र त्यसमा गृहमन्त्रीको नाम जोडिएको विषयले महत्त्व पायो।
सोही बैठकपछि पूर्वमहामन्त्री शशांकले मिडिया सामु दिएको अभिव्यक्ति अरूबेला भन्दा फरक थियो। १४ औं महाधिवेशनमा दाइ शेखरलाई नसघाए पनि शशांकले उनीविरूद्ध तिखो टिप्पणी गरेका थिएनन्। यसपटक भने शशांकले गृहमन्त्रीको राजीनामा माग्ने शेखरसहित उनीनिकट सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईसँग सभापतिले स्पष्टीकरण लिनुपर्ने बताए।
बैठकमा शेखरसहित तीन नेतामाथि स्पष्टीकरण सोध्नुपर्छ भन्ने प्रस्ताव कसले राखेका थिए अझै स्पष्ट हुन सकेको छैन। बैठक सकिएपछि पत्रकारहरूसँगको कुराकानीमा शशांकले शेखरसहित तीन जनामाथि स्पष्टीकरण सोध्ने विषय उठेको र सभापतिले सोध्नुपर्ने भन्दै ‘अरू उपाय नभएको’ प्रतिक्रियासमेत दिएका थिए।
‘मलाई लाग्छ, स्पष्टीकरण सोध्नैपर्छ,’ उनको भनाइ थियो, ‘मतभेद हटाउन र पार्टीलाई बलियो बनाउने विषयमा अरू उपाय नै छैन।’
शशांकले देउवा निवासमा पत्रकारहरूसँग शेखरलाई समेत स्पष्टीकरण लिनुपर्ने बताए लगत्तै कोइराला परिवारको गृहनगर विराटनगरमा त्यसको प्रतिक्रिया चर्कै रूपमा प्रकट भयो।
खासगरी शेखरनिकट कांग्रेस नेताहरूले सार्वजनिक रूपमै शशांकप्रति असन्तोष प्रकट गरेका छन्। तिनैमध्येका एक हुन्- कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की।
उनले शशांकलाई ‘बोलक्कडहरूले उचालेर फसाइदिएको’ आरोप लगाए। सामाजिक सञ्जाल फेसबुकमा कार्कीले लेखेका छन्, ‘गृहमन्त्री चोखो हुनुहोस्, पशुपतिनाथसँग प्रार्थना छ। कांग्रेसलाई भ्रष्टाचारीको दाग लाग्न हुन्न। तर बोलक्कडहरूले शशांक दाइलाई उचालेर फसाइदिए, दुःख लागेर आयो, बिपी विचार अमर रहोस्।’
कार्की मात्रै होइन, शेखर पक्षका धेरै नेता–कार्यकर्ताहरूले हिम्मत भए शेखरलाई स्पष्टीकरण सोधेर देखाउन चुनौती मात्रै दिएका छैनन्, शशांकविरूद्ध पनि निशाना साँधिरहेका छन्।
शेखर स्वयम्ले शशांकविरूद्ध सार्वजनिक रूपमा केही बोलिहालेका छैनन्। तर कोइराला निवासमा भेला हुने निकटस्थहरूसँग भने शेखरले शशांकलाई अरूले प्रयोग गरेको बताएका छन्।
‘हामीले शशांक दाइले किन तपाइँविरूद्ध अभिव्यक्ति दिनुभएको हो भनेर शेखर दाइलाई सोधेका थियौं,’ विराटनगरका एक जना कांग्रेस नेताले भने ‘उहाँले यसलाई हल्का रूपमा लिएको बताउनुभयो। शशांकलाई अरूले उचालेर अघि सारेको शेखर दाइको बुझाइ छ।’
महाधिवेशनमा आफूलाई सहयोग नगरेयता नै शेखर शशांकलाई ‘अरूले प्रयोग गरेको’ बुझाइमा रहेको उनी निकटहरू बताउँछन्। ‘महाधिवेशनमा नसघाउने उनले अहिले त्यति बोले भनेर किन अचम्म मान्नु’ भन्ने अभिव्यक्ति शेखरले दिएको निकटहरूको भनाइ छ।
केही दिनयता पूर्वका कार्यक्रममा व्यस्त रहेका शेखरले मंगलबार विराटनगरमा आयोजित एउटा कार्यक्रममा सभापति देउवा निवासमा भएको पदाधिकारी बैठकमा आफूबारे कुरा उठेको भन्दै असन्तोष प्रकट गरे।
जेठ १५ मा काठमाडौं एमालेको कब्जामा हुनुपर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका उनले बैठकमा त्यो विषय उठ्ने आशा गरेको तर त्यसविपरित आफूबारे कुरा उठेको भन्दै ‘खुसी नै लागेको’ बताए।
शेखर सभापति देउवासहित पार्टी संस्थापनविरूद्ध खुला रूपमा उभिएको धेरै भयो। आउँदो महाधिवेशनको तयारीका लागि देश दौडाहामा रहेका उनले बेलाबेला कोइराला परिवार एकै ठाउँ हुनुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन्। यद्यपि कोइराला परिवारलाई नजिकैबाट चिन्नेजान्नेहरू भने घटनाक्रमहरूले यी दाजुभाइको दुरी झन्–झन् बढाउँदै लगेको बताउँछन्।
‘विचार, सक्रियता र अडानका कारण शेखरले आफूलाई धेरै अघि बढाइसकेका छन्,’ कोइराला परिवारका निकट रहेका विराटनगरका एक नेता भन्छन्, ‘उनको दाँजोमा शशांकको पर्फर्मेन्स बलियो छैन। त्यसैले सम्बन्ध नसुध्रिए पनि आगामी दिनमा शेखरलाई समस्या हुने देखिन्न।’
कांग्रेसको इतिहासबारे अनुसन्धान गर्दै र लेख्दै आएका शंकर तिवारी भने कांग्रेसभित्र अहिले पनि शेखरको दाँजोमा शशांकको प्रभाव ठूलो र बलियो रहेको दाबी गर्छन्।
‘कांग्रेसभित्र कोइराला परिवारमा अहिले पनि तीन वटा ग्रेड छ। बिपीको परिवार ए, गिरिजाप्रसादको बी र केशवको परिवार सी। यही कारण पनि शशांकको प्रभाव बलियो देखिन्छ,’ उनले तर्क गरे।
विगतका महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्दा एकपटक शेखर र एकपटक शशांकले सबैभन्दा लोकप्रिय मत पाएको उल्लेख गर्दै तिवारीले भने, ‘त्यसलाई हेर्दा पनि शेखरले पाएभन्दा संशाकले पाएको मत प्रतिशत धेरै बढी थियो। यसले पनि कोइराला परिवारलाई कांग्रेसजनले कसरी बुझ्छन् भन्ने थाहा हुन्छ।’
१४ औं महाधिवेशनका बेला सभापति देउवाले आउँदो महाधिवेशनमा शशांकलाई सभापतिमा सघाउने प्रतिबद्धता जनाएको हुन सक्ने सम्भावना औल्याउँदै उनले १५ औं महाधिवेशनमा दुई कोइराला एकै ठाउँ हुने सम्भावना कमजोर रहेको बताए।
‘उनीहरू एकै ठाउँ हुने सम्भावना मैले चाहिँ कमजोर देखेको छु,’ तिवारीले भने।
कोइराला परिवारसँग लामो समयदेखि निकट सम्बन्धमा रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने शेखर-शशांक एकै ठाउँ हुने सम्भावना कायमै रहेको बताउँछन्।
‘पदाधिकारी बैठकमा शशांक आफैले शेखरहरूलाई स्पष्टीकरण लिनुपर्छ भन्ने प्रस्ताव राखे होला भन्ने मलाई लाग्दैन,’ आचार्यले सेतोपाटीसँग भने, ‘बैठकमा यी यी कुरा उठे भनेर उनले जानकारी दिए जस्तो लाग्छ। किनभने यी दुई अद्भूत रूपमा मिल्ने दाजुभाइमध्येमा पर्छन्। पछिल्लो समय केहीपटक भेटघाट पनि भइसकेको जस्तो लाग्छ।’
आचार्यले यसो भने पनि शेखरनिकट नेताहरूका अनुसार दाजुभाइबीच भेटघाट नभएको लामो समय भइसकेको छ। बरू पछिल्लो समय शशांकले कांग्रेसका पूर्व पदाधिकारीहरूलाई आफ्नो निवासमा चियापान लगायतमा स्वागत गरिसकेका छन्। सभापति देउवा समूहमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीलाई एकढिक्का राख्न उनले पहल गरिरहेका छन्।
कांग्रेसका पाँच पूर्वपदाधिकारीको नियमित भेटले सभापतिमा तपाईंको भन्दा शशांकको सम्भावना बढाएको हो भनेर केही दिनअघि विराटनगरमा शेखरलाई पत्रकारहरुले सोधेका थिए।
त्यसबेला शेखरले ‘ती पाँच जना पहिले कता थिए? मतिर थिए? मलाई सघाएका थिए?’ भनेर उल्टै प्रतिप्रश्न गरेका थिए।
शेखरको अभिव्यक्तिले नै उनी ती पाँच पूर्वपदाधिकारीप्रति आशावादी नरहेको देखाउँछ। यद्यपि ती पाँचमध्ये सबै एकअर्काप्रति धेरै विश्वस्त नरहेकाले शेखर निर्धक्क बनेको निकटहरू बताउँछन्।
कांग्रेस राजनीतिमा सक्रिय रहेका कोइराला परिवारका तीन सदस्य शेखर, शशांक र सुजाता जब एकै मञ्चमा उभिन्छन्, त्यसबेला अब एकै ठाउँ उभिएर अघि बढ्ने बताउँछन्। तर मञ्चबाट ओर्लेर बाहिर पुग्नासाथ अलगअलग व्यवहार गर्छन्।घटनाक्रमले पनि त्यस्तै देखाउँछन्।
२०७५ को मंसीर २ मा जीपी कोइराला फाउण्डेशनको कार्यक्रम (कोइराला निवास) मा एकै ठाउँ भेला भएर उनीहरूले ‘एकताबद्ध हुने’ प्रण गरेका थिए। कार्यकर्ताले तीनै जनालाई एउटै माला लगाएर एक हुन भनेका थिए। तर त्यसको तीन वर्ष पूरा हुँदा नहुँदै २०७८ मा तीन जना तीनतिर बने।
२०८० असोज ३ का दिन पनि तीनै जना राजधानीको एकै मञ्चमा उपस्थित थिए। त्यसदिन बिपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका बिपी’ विषयक छलफलमा वक्ताका रूपमा शेखर, शशांक र सुजाता उनीहरूलाई निम्त्याइएका थिए। त्यो कार्यक्रममा पनि उनीहरुले ‘अब मिलेर अघि जाने’ बताएका थिए।
त्यसको पनि दुई वर्ष पूरा हुनै लाग्दा सुजाता र शेखर एकैठाउँ भइसकेका छन्। शेखर–शशांक दुरी भने झनै बढेको छ।
‘आउँदो महाधिवेशनसम्म यही दृश्य निरन्तर रहनेछ,’ शेखरनिकट कोशीका एक नेता भन्छन्, ‘शेखर दाइको पक्षमा देउवा पक्षकै धेरै नेताहरू आउने सम्भावना भइसकेको छ। यस्तो अवस्थामा शशांक नभए पनि धेरै फरक पर्दैन भन्ने उहाँको बुझाइ छ।’
यो पनि:
सानेपामा देउवानिकट ६ भाइको जमघट, शक्ति विस्तार रणनीति
कांग्रेस नेताहरू शशांक निवासमा जुट्नुको कारण
देउवा नखुलेपछि आफै अघि बढ्ने उनीनिकट नेताहरूको प्रयास
देउवाको वचन नपाएपछि ११-भाइ नेता ‘पानी नाप्न’ आफै जिल्ला दौडाहामा
अबको सभापति को हो भन्दै देउवाकहाँ पुगे कांग्रेसका नेताहरू
देउवा समूहका नेता तान्ने रणनीतिमा केन्द्रित शेखर कोइराला
गगन थापाको सक्रियताले कांग्रेसमा तताएको माहोल