नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं अधिवेशन शुक्रबारदेखि पोखरामा हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
संगठनका महासचिव सुमन पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको बताए।
उनका अनुसार महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन्। तर विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको उनले बताए।
यसरी बढ्दा प्रतिनिधिको संख्या १ हजार ८ सय ३४ जनासम्म पुग्न सक्ने उनले बताए। युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।
पर्वतबाहेक अधिकांश जिल्लामा प्रतिनिधि टुंगो लागिसकेको र प्रदेशले त्यसलाई अन्तिम रूप दिँदै केन्द्रका पठाउने काम भइरहेको संगठनका उपाध्यक्ष कृष्णहरि केसीले जानकारी दिए।
पर्वतमा जिल्ला अधिवेशन हुन सकेको छैन। जिल्ला कमिटीको विस्तारित बैठकमा विवाद उत्पन्न भएपछि त्यहाँ प्रतिनिधि छनोट पनि प्रभावित बनेको थियो।
त्यस्तै केन्द्रीय अनुशासन, निर्वाचन, लेखा र विज्ञ युवा परिषद् लगायत आयोगबाट पनि प्रतिनिधित्व टुंगो लाग्न बाँकी छ। आयोगका सदस्यहरू पनि स्वतः महाधिवेशनको आयोजक हुनेछन्। तर ती निकायमा केही सदस्यहरूले शपथग्रहण नै गर्न बाँकी रहेकाले उनीहरूलाई सहभागी गराउने नि नगराउने टुंगो लाग्न बाँकी रहेको उपाध्यक्ष केसीले जानकारी दिए।
अधिवेशन सुरू हुन दुई दिन बाँकी रहँदा आगामी नेतृत्वका लागि आकांक्षीहरूको लर्को नै लागेको छ।
अध्यक्षमा संगठनका वर्तमान अध्यक्ष क्षितिज थेवे, महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङको नाम चर्मामा छ।
त्यस्तै महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ।
परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ।
महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा छ।
आगामी नेतृत्वका लागि आकांक्षी बढे पनि पार्टी नेतृत्वले भने प्रतिस्पर्धा चाहेको छैन। फागुन यता अधिवेशन भएका १० वटा जनसंगठनमा कतै पनि निर्वाचन भएन। सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले युवा संघमा पनि सहमतिबाटै नेतृत्व चयन गर्न खोजेका छन्।
उनले बुधबार जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, युवा संघका वर्तमान र पूर्वअध्यक्ष तथा नेतृत्व तहमा रहेकाहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। साँझ भएको छलफलमा सहमतिबाटै नेतृत्व टुंग्याउन र मिलेर अधिवेशन सम्पन्न गर्न भनेको संगठनका सचिव बलराम बेलबासेले जानकारी दिए।
‘अध्यक्षले मिलेर जानुस्, मिलाएर नेतृत्व चयन टुंग्याउनुस् भन्नुभएको छ। कसैले छाड्नै पर्ने अवस्था आएका त्यताको क्षतिपूर्ति पार्टीबाट गरौंला, जिम्मेवारी दिउँला भन्नुभएको छ,’ उनले भने।
एकले अर्कालाई स्वीकार्ने परिस्थिति बनाउन र सौहार्दपूर्वक अधिवेशन सक्न पनि भनेको उनले बताए।
एमालेका २३ जनसंगठनमध्ये युवा संघ र अनेरास्ववियुले पार्टीभित्र विशेष प्रभाव राख्छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युवा संघका संस्थापक अध्यक्ष पनि हुन्। २०४७ सालमा उनकै नेतृत्वमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) गठन भएको थियो। त्यसैले ओलीले अधिवेशनमा चासो राखेका छन्।
एक नेताले दिएको जानकारीअनुसार बिहीबार पनि अध्यक्ष ओलीले युवा संघको नेतृत्वबारे छलफल गर्दैछन्। जनसंगठन समन्वय संयन्त्र प्रमुख, युवा संघ इन्चार्ज लगायत पार्टीका नेतासँग छलफल गरेर सकेसम्म काठमाडौंबाटै नेतृत्व टुंग्याएर जान खोजेको ती नेताले बताए।
आगामी अध्यक्षका लागि पाँच जनाले नै दाबी प्रस्तुत गरिरहेका छन्। वर्तमान अध्यक्ष क्षितिज थेवेले गत वैशाख २१ गते ताप्लेजुङको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्ने क्रममा आफू अध्यक्षमा नदोहोरिने बताएका थिए। उनले पार्टीमा काम गर्ने इच्छा पनि प्रकट गरेका थिए।
तर अहिले दोहोरिने आकांक्षा देखाएका छन्। दुई कार्यकाल उपाध्यक्ष हुँदै महासचिव बनेका सुमन पुरीले पनि आफ्नो बलियो दाबी प्रस्तुत गरिरहेका छन्।
‘संगठनका सबै तहका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छु। कि मेरो अयोग्यता देखाइदिनुपर्यो। होइन भने म अध्यक्षको दाबेदार हुँ, त्यो सामर्थ्य राख्छु,’ उनले भने।
अध्यक्षका अर्का आकांक्षी प्रकाश गौतमले पनि आफू सिराहाको लहान (सातौंं) अधिवेशनदेखि निरन्तर प्रतिनिधि रहँदै आएको र बुटवल अधिवेशन (आठौं) मा अत्यधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएको बताए। त्यसयता पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्दै आएकाले अध्यक्षको दाबेदारी स्वाभाविक भएको बताए।
‘अहिले चर्चामा रहेका नामभन्दा वरिष्ठताको हिसाबले म स्वाभाविकरूपमा अगाडि छु। बुटवल महाधिवेशनमा निर्वाचित हुन नसकेकाहरूले पनि अध्यक्षको आकांक्षा राखिराख्नुभएको छ। राजनीतिक, वैचारिक र कार्यक्रमका हिसाबले संगठनलाई बलियो नेतृत्व दिन म सक्षम छु,’ उनले भने।
अध्यक्षका अर्का आकांक्षी कृष्णहरि केसीले आफू अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेकाले स्वाभाविक रूपमा अध्यक्षको आकांक्षी रहेको बताए।
संगठनलाई राजनीतिक, वैचारिक हिसाबले बलियो बनाउन आफू निरन्तर क्रियाशील रहेकाले यसपटक नेता–कार्यकर्ताले अध्यक्षमा विश्वास गर्ने तर्क गरे।
‘संगठनभित्र मलाई राजनीतिक र वैचारिक मान्नुहुन्छ। मेरो छवि त्यसै गरी बनेको छ। अहिलेसम्म नेताहरूले तँ हुँदैनस् नभनेकाले अध्यक्ष बन्ने विश्वासमा छु,’ उनले भने।
एमाले अध्यक्ष ओलीलाई पार्टीको आन्तरिक लोकतन्त्रप्रति गहिरो अरूचि देखिन्छ। उनी आफै भने प्रतिस्पर्धाबाटै पार्टी नेतृत्वमा स्थापित भएका हुन्।
अध्यक्ष ओलीकै अनिच्छाका कारण एमालेको जनसंगठनमा कतै पनि प्रतिस्पर्धा भएको छैन। सहमतिका नाममा नेताले रूचाएका र इच्छाएका व्यक्ति जनसंगठनका पदाधिकारीदेखि सदस्यसम्म चुनिएका छन्।
गत चैतमा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औं अधिवेशन भएको थियो।
अध्यक्षका प्रबल दाबेदार थिए, संगठनका उपाध्यक्ष राजेश राई। तर उनलाई उम्मेदवारी दर्तासमेत गर्न नदिई अध्यक्ष मण्डलले पार्टी केन्द्रले तोकेर पठाएका नामहरू वाचन गरेर सुनायो। आफ्नो नेता चुन्न गएका प्रतिनिधि नेताले तोकेका नाम सुन्न गएझैं भए। पररर्र ताली बजाएर फर्किए।
प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डे चुनिएका थिए। महाधिवेशनअघि प्रेस चौतारीको अध्यक्ष राईलाई बनाउने, पाण्डेलाई प्रचार विभाग सदस्य मनोनीत गर्ने नेतृत्वको बीचमा सहमति भएको थियो। तदनुरूप पाण्डे सदस्य मनोनीत भएका पनि थिए। तर शपथ खाएको एक हप्ता पनि नबित्दै अध्यक्ष ओलीकै रूचिअनुसार पाण्डेलाई प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत बनाइयो।
निजामती कर्मचारी संगठनमा पनि त्यसै गरी नेतृत्व चुनियो। कर्मचारी संगठनको १२ औं अधिवेशनले अध्यक्षमा भवानी दाहाल निर्वाचित गरेको थियो। अध्यक्षमा संगठनमा लामो समय काम गरेका रेवन्त गौतमले दाबी गरेका थिए। उनलाई पनि उम्मेदवार दर्तासम्म गर्न नदिएर सर्वसम्मतका नाममा गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाएर कमिटी घोषणा गरियो।
त्यही अवस्था प्रगतिशील प्राध्यापक संगठनको ११ औं सम्मेलनमा पनि देखियो। अध्यक्ष मण्डलले उनलाई पनि उम्मेदवारी दर्ता नै गर्न नदिई मध्यरात पद्मप्रसाद खतिवडाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्यो।
फागुन यता १० वटा जनसंगठनका अधिवेशन भएका छन्। यी कतैमा पनि चुनाव भएनन्। सहमतिका नाममा नेताहरूको छनोटमा परेकाहरूको सूची सुनाइयो।
यसबीचमा मानव अधिकार एलाइन्स, नेपाल उद्योग तथा व्यवसाय महासंघ, प्रेस चौतारी, प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन, रिटर्नी फेडेरेसन, लोकतान्त्रिक अपांगता संगठन, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम इत्तेहाद संघ, भूमि अधिकार तथा श्रमिक संगठनको राष्ट्रिय अधिवेशन भएका छन्। युवा संघको अधिवेशनअघि बुद्धिजीवी परिषद्, नेपाल उत्पीडित जातीय मुक्ति समाजको अधिवेशन हुँदैछ। यी दुई अधिवेशनमा पनि प्रतिस्पर्धा हुने सम्भावना क्षीण छ।
‘पार्टीभित्र प्रतिस्पर्धालाई निषेध गर्ने नेताहरूको चाहनाको जनसंगठनमा सफल प्रयोग भइरहेको छ। त्यसकारण राष्ट्रिय युवा संघ, अनेरास्ववियुमा पनि सहमतिका नाममा नेताहरूले सूची पढे भने अनौठो हुनेछैन,’ एमालेका एक नेताले भने।