उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध राम्रो राख्दा दुवै देशको हित हुने बताएका छन्।
गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सिंहले नेपाल र भारतबीचको सम्बन्ध सन्तुलित र मजबुत बनाउनुपर्ने बताए।
‘नेपाल र भारतमा सरकार जुनसकै पार्टीको होस् दुवै देशबीच आपसमा सम्बन्ध सन्तुलित र मजबुत राख्यो भने दुवै देशलाई हित हुने कुरा हामीले जोड गर्नुपर्छ,’ उनले भने।
फाउन्डेसनका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री सिंहले ०४६ सालको जनआन्दोलनमा चन्द्रशेरजीको भूमिकाको चर्चा गरेका थिए।
भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर र ०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहबीच राम्रो सम्बन्ध रहेको उनले बताए।
‘चन्द्रशेखरजी र गणेशमानजीको बीचमा राजनीतिक नेतामा हुनुपर्ने गुणहरूमा दुवै जनामा एकै किसिमको भएकाले हो कि के हो एकआपसमा राम्रो सम्बन्ध थियो। उहाँहरू एकले अर्कालाई उत्तिनै मान्नुहुन्थ्यो। चन्द्रशेखरजीले त एउटा प्रिय नेताका रूपमा र आइडोलगका रुपमा गणेशमानजीलाई मान्छु भनेर भन्नुहुनथ्यो,’ सिंहले भने।
बहुजन समाजवादी पार्टीका वरिष्ठ नेता र चन्द्रशेखरजीका निकटस्थ मानिने सोधेन्द्र भदौरियाले चन्द्रशेखले नेपालमा गणेशमान सिंहलाई सबैभन्दा बढी आदरभाव राख्ने गरेको र नेपालको महात्मा गान्धीका रूपमा चर्चा गर्ने गरेको सुनाए।
उपप्रधानमन्त्री सिंहले ०४६ सालको जनआन्दोलनको तयारीका क्रममा चाक्सीबारीमा भएको सम्मेलनलाई सम्बोधन गर्न आएको बेलामा चन्द्रशेखरजीलाई नजिकबाट देख्न र सुन्न पाएको भन्दै त्यतिबेला उनले दिएको मनको भयलाई हटाउ स्वतन्त्रता प्राप्त हुन्छ भन्ने चर्चित वक्तव्य देशव्यापी रूपमानै फैलिएको स्मरण गरेका थिए।