नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको सहमति तीन जनाले गरेको बताएका छन्।
आइतबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले उक्त सहमति सुरूमा आफू, गिरिजाप्रसाद र तत्कालीन राजा ज्ञानेन्द्रले गरेको बताएका हुन्।
'यी जम्मै गर्ने हामी तीन जना हो। एउटा गिरिजाप्रसाद कोइराला, अर्को म र त्यसपछि ज्ञानेन्द्र। पछिमात्रै हुन् प्रचण्ड जी,' उनले भने।
उनले गणतन्त्र ल्याउने सहमति गरेपछि मात्रै माओवादी 'जनयुद्ध' छाडेर आएको बताए। गणतन्त्र ल्याउने निर्णय साउनमा गरिएको र माओवादी मंसिरमा आएको उनको भनाइ छ।
'मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो। हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउन महिनामा हो। बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौं। सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो,' उनले भने
अध्यक्ष नेपालले पूर्वराजाको फर्किने इच्छा नरहेको कुरा उनकै सचिवबाट सुनेको बताए।
'अहिले राजा फर्काउने कुरा छैन, उहाँको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भनेपनि अलिकति मन शान्त भएको छ। अरुले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु। राजनीति गर्नु छ भने पार्टी खोल्नुस्। राजनीतिक मैदानमा आउनुस्,' उनले भने।