प्रतिनिधीसभा सदस्य दीपक बोहराको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि गृहनगर भैरहवा ल्याइएको छ।
रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पताल निधन भएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका ७४ वर्षीया बोहरा २०७७ साल जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि अस्वस्थ थिए। कोरोना संक्रमणबाट निको भएपनि पोष्ट कोभिडका कारण उनको स्वास्थ्यमा समस्या देखिएको थियो।
कोरोनापछि घाँटीमा भएको संक्रमणका कारण स्वर बसेको थियो। सोही अवस्थामा उनी निर्वाचनमा होमिए र २०७९ को निर्वाचनमा तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरे।
सिद्धार्थनगर नगरपालिका-३ का बासिन्दा बोहराको पार्थिव शरीर हेलिकप्टरमार्फत् मंगलबार मध्यान्न गृहनगर भैरहवा ल्याइएको हो।-1743515371.png)
गौतमबुद्ध विमानस्थलमा हेलिकप्टरमा ल्याएको उनको पार्थिव शरिरलाई विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायत स्थानमा परिक्रमा गराएर सिद्धार्थनगर- ३ स्थित पार्टी कार्यालयमा राखिएको थियो।
बोहरालाई अन्तिम श्रद्धाञ्जली दिन राप्रपाका नेता कार्यकर्ता, स्थानीय बासिन्दा, नेपाली कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टीका प्रदेश र जिल्लास्तरका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू भैरहवास्थित पार्टी कार्यालयमा पुगेका थिए।
भैरहवामा श्रद्धाञ्जली दिएपछि मंगलबार नै उनको पार्थिव शरीर काठमाडौं लगिने राप्रपाका केन्द्रीय सदस्य समेत रहेकी उनकी नातीनी स्वाती थापाले जानकारी दिइन्।
-1743515370.png)
बोहराको निधनले निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता र शुभेच्छुक चिन्तित बनेका छन्।
नेपालको राजनीतिमा झण्डै चार दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका बोहरा रूपन्देहीमा विकासप्रेमी नेताको रूपमा चिनिन्थे।
यो पनिः
चार वर्षदेखि मौनतामा गुज्रिएका दीपक बोहरा