सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारीपछि सम्पर्कविहीन रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतको बिदा प्रतिनिधि सभाले अनुमोदन गरेको छ।
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो।
उनी त्यसअघिदेखि नै प्रतिनिधि सभा बैठकमा अनुपस्थित छिन्।
वैशाख १८ गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छिन्।
सांसद बस्नेतले चितवनको सनराइज सहकारीबाट २० करोड, बर्दियास्थित नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको छिपछिपे सहकारीबाट एक करोडभन्दा बढी बचत रकम ज्वाइँ नगेन्द्रबहादुर रिमाललगायतबाट निकासी परेको आरोप थियो।
फरार रहेकी सांसद बस्नेतको मंगलबारको प्रतिनिधि सभा बैठकले बिदा अनुमोदन गरेको हो। सभामुख देवराज घिमिरेले बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए।
बस्नेत माघ १८ गतेदेखि चैत १९ गतेसम्म प्रतिनिधि सभाका १९ वटा बैठकमा अनुपस्थित रहेकी थिइन्। उनी स्वास्थ्य उपचारमा रहेको भन्दै बिदामा रहेकी छिन्। अनुपस्थित सूचनालाई सभाले स्वीकृत गरेको सभामुख घिमिरेले बताए।
यसअघि गत वैशाखमा नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको पनि बिदा स्वीकृत भएको थियो। हत्या आरोप लागेका सांसद कोइरी अस्वस्थ रहेको भन्दै बिदा अनुमोदन गरेकोमा त्यसबेला सांसदहरूले विरोध गरेका थिए।
सांसदहरूको विरोध थेग्न नसकेपछि सभामुख घिमिरेले त्यसबेला संसद बैठक नै स्थगित गर्नुपरेको थियो।