नेकपा (एमाले)का सांसद योगेश भट्टराईले चैत १५ गते तीनकुनेमा जलाइएका गाडीहरू नारायणहिटी संग्रहालयमा राख्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले देशमा राजा आए के हुन्छ भन्ने कुरा नयाँ पुस्तालाई देखाउन जलाइएका ती गाडीहरू संग्रहालयमा राखिनुपर्ने र जलाइएका भवनहरू दस वर्षसम्म जस्ताको तस्तै राख्नुपर्ने बताएका हुन्।
'अब ल्याउन लागिएको राजतन्त्र नयाँ पुस्तालाई थाहा दिनुपर्छ। त्यसकारण अस्ती जलाइएका सबै गाडी लगेर नारायणहिटी संग्रहालयमा राखौं। जलाइएको सरकारी भवन बरू १० वर्ष क्षतिपूर्ति दिऔं जस्ताको तस्तै राखौं। देखाइदिऊँ एकपटक दुनियाँलाई राजा आए के गर्दा रहेछन् भनेर। जडिबुटी उद्योग जस्ताको तस्तै राखौं,' उनले भने।
उनले त्यसदिन तीनकुने क्षेत्रमा भएको तोडफोड, आगजनी, प्रहरीमाथि भएको आक्रमणको भिडिओ संसदमा देखाउन समेत आग्रहर गरे।
'सुरेश रजकको चित्कारलाई सम्झिऔं, ती सशस्त्र प्रहरी महिला जसले बचाउ बचाउ भन्दै रूँदै थिइन्। कसको आशुँ नझर्ला, के यही व्यवस्था ल्याउन हो? सुरक्षाकर्मीको संयमताले जति क्षति हुन पर्ने त्यति भएन। सुरक्षा निकायलाई धन्यवाद भन्छौं। तर ती सशस्त्र महिला प्रहरीको चित्कार एक पटक सुनौं, त्यो भिडिओ ल्याएर यहाँ देखाऔं,' उनले भने।
भट्टराईले दलीय प्रतिस्पर्धा आफ्नो ठाउँमा भएपनि नेपालका सबै राजनीतिक दलहरू गणतन्त्र र संविधानको पक्षमा प्रतिबद्ध रहेको बताए।