नवराज सुवेदी संयोजकत्वको 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन र सभा थियो।
उक्त प्रदर्शन र सभालाई राप्रपा लगायत राजसंस्था पुनर्थापनाको एजेन्डा लिएका दलहरूले समर्थन जनाएका थिए।
सुवेदी नेतृत्वको समितिको सदस्य-सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिमा महामन्त्री धवलशमशेर राणा पनि थिए। तीनकुनेको प्रदर्शनमा मिश्र र राणा पनि सहभागी थिए। उनीहरूमाथि प्रदर्शनकारीलाई भड्काएको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रदर्शन र सभाका मुख्य नेतृत्वकर्ता दुर्गा प्रसाईं भने शुक्रबारदेखि नै फरार छन्।
तीनकुनेमा गत शुक्रबार प्रदर्शनकारीहरूले घेरा तोड्न खोजेपछि प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड गरेका थिए। सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालय आगजनी गर्नुका साथै कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट नै गरे।
प्रदर्शनकारीले आगजनी गरेको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो। कीर्तिपुर नगरपालिका-४ का २९ वर्षीय सविन महर्जनको पनि गोली लागेर ज्यान गयो।
शुक्रबारको प्रदर्शनका विभिन्न भिडिओ सामाजिक सञ्जालमा आइरहेका छन्। तर त्यस दिन त्यहाँ के भएको थियो?
हेर्नुहोस्, त्यस दिन दिनभर रिपोर्टिङमा खटिएका लोकपथ अनलाइनका पत्रकार प्रकाश पुडासैनीसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी।
भिडिओ: