राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको नियमित गतिविधिमा फर्केका छन्।
केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय समिति बैठक सुरू हुनुअघि सोमबार दिउँसो उनले सम्बोधन पनि गरे।
आफूलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको दाबी उनको थियो।
गत कात्तिक २ गते उनलाई सहकारी ठगी, संगठित अपराध कसुरमा प्रहरीले च:मतिबाटै पक्राउ गरी पोखरा लगेको थियो।
कास्की, काठमाडौं, रूपन्देही र चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटेका थिए।
‘तपाईंले दिनुभएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस्- रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो,’ उनले भने, ‘प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन। यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थेँ होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शिर झुकाउँदिनँ।’
२०७९ को चुनावपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वमा बनेको सरकारमा रवि लामिछाने दुई पटक उपप्रधान तथा गृहमन्त्री भने बनेका थिए।
उनले आउने चुनावमा राम्रा उम्मेदवार उठाएर जहाँ उम्मेदवारी दियो त्यहीँ जित्ने गरी तयारी थाल्नुपर्ने पनि बताए। आफूले उम्मेदवारी नदिएर पनि अरूलाई ठाउँ दिने उनको दाबी थियो।
उनले कांग्रेस-एमाले सरकारको औचित्य समाप्त भइसकेको पनि बताए। सरकारले फेरि आफूलाई थुन्न सक्ने भन्दै उनले अबचाहिँ पार्टी नेतृत्व सम्हाल्छु भनेर आएको पनि बताएका थिए।
उनले अदालतप्रति सम्मान रहेको पनि बताए।
‘जुनसुकै शक्तिसँग पनि म लड्छु तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ, अझै गर षड्यन्त्र,’ उनले भने, ‘थप मुद्दा लगाउन बाँकी छ भने लगाओस् सरकारले।’
उनले जहाँ आगो बलेको छ त्यहाँ ताप्न रास्वपा नआएको पनि बताए। जनतामा आएको आक्रोशलाई बदल्नुपर्ने उनले बताए। उनले अहिले लोकतन्त्र बचाउने हो भने दह्रो प्रतिपक्ष आवश्यक परेको पनि बताए।
रास्वपालाई गणतन्त्र र लोकतन्त्रवादी होइनौं कि भनेर हिलो छ्याप्ने काम भएको उनको भनाइ थियो। ‘जनता र परिवर्तनको पक्षमा रास्वपा छ,’ लामिछानेले भने, ‘तपाईंको कित्तामा फोटो खिचाउने रहर छैन।’
रास्वपालाई फुटाउन सकिन्छ कि भनेर केही लागिपरेको उनको भनाइ थियो।
‘रास्वपालाई कमजोर पार्न सकिन्छ कि विभाजित गर्न सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन्,’ उनले भने, ‘यो सरकारलाई के चाहिएको हो? दुइटा ठूला दल मिलेर बनेको सरकार सफल हुनेवाला छैन। दुइटा चोर मिलेर साधु हुँदैन।’