नेकपा (माओवादी केन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेको छ।
सोमबार प्रतिनिधि सभामा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अहिलेको संविधानले कानुनभन्दा कसैलाई नराखेको बताउँदै तीनकुने घटनाको विषयमा पूर्वराजालाई कारबाही गर्न माग गरेकी हुन्।
'संविधान र कानुनभन्दा माथि कोही छैन। तसर्थ चाहे पूर्वराजा ज्ञानेन्द्र हुन्, चाहे सामाजिक सञ्चालमा चर्चित तर लुकेर बसेका दुर्गा प्रसाई हुन् तिनिहरूलाई सबै तुरून्त कारबाहीको दायरामा सरकारले ल्याओस्। यो हाम्रो संसदीय दलको माग हो,' उनले भनिन्।
उनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएर सरकारले त्यसको पूर्वतयारी गर्न नसकेको बताइन्। उनले प्रदर्शनलाई उत्तेजित पार्ने र सुरक्षाकर्मीमाथि नै गाडी चढाउन खोजिएको घटनाप्रति खेद व्यक्त गरिन्।
उनले निरंकुश राजतन्त्रविरूद्ध हजारौंले वलिदानपछि गणतन्त्र प्राप्त भएकाले राजतन्त्रसँग तुलना गर्ने नमिल्ने बताइन्।
उनले राजतन्त्रको बेला, गणतन्त्र प्राप्तिपछि र गणतन्त्र प्राप्तिभन्दा अगाडि देशको पूर्वाधार र मानव विकासको अवस्था तुलना नै नहुने बताइन्।
यद्यपि गणतन्त्रवादीलाई पनि मनलाग्दी गर्न छुट नरहेको उनले बताइन्।
संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्को सर्भिसिङ आवश्यक रहेको उनको भनाइ छ।
'संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ । त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरु हो । सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट र विचौलियाको पक्षमा काम नगर्ने कुराले मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ सभामुख महोदय । तर यस्तो हुन सकिरहेको छैन,’ उनले भनिन्।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको पनि उनले बताइन्।