प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाबारे सदनलाई जानकारी गराएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शन र तोडफोड, आगजनी तथा लुटपाटबारे कुरा राखेका हुन्।
प्रधानमन्त्री ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने बताए।
‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो। र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो,’ उनले भने।
साथै प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हेरफेरको विषय अदालतमा विचाराधीन रहेकाले सदनमा थप चर्चा गर्न आवश्यक नरहेको बताएका थिए। विपक्षी दलहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोमा प्रधानमन्त्रीको जबाफ मागेका थिए।
भिडिओ: