राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भने, ‘सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो, छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास र माथिबाट गोली हानियो त्यसको जबाफ चाहिन्छ।’
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो।
यस घटनामा छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने माग लिङ्देनले राखेका हुन्। तीनकुनेको प्रदर्शनलाई राप्रपाले पनि समर्थन गरेको थियो।
‘न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारबाही होस्,’ लिङ्देनले भने।
यस घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
साथै अध्यक्ष लिङ्देनले जनताले चाहे राजसंस्था आउन सक्ने पनि बताए।
भिडिओ: