चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ।
दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि गत शुक्रबार भएको प्रदर्शनपछि तोडफोड र आगजनी भएको थियो।
घटनामा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ घाइते भएका थिए।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले अश्रुग्यास, पानीको फोहरा र गोलीसमेत चलाएको थियो।
प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगामुढा, निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, सवारीसाधन र घरमा समेत आगजनी गरेका थिए।
आगो लागेको घरमा परी एभिन्युज खबरका पत्रकार सुरेश रजक र प्रदर्शनको क्रममा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो।
अन्य १२९ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २२ जना र प्रदर्शनकारी ५२ जना घाइते छन्।
प्रहरीतर्फ ४९ जना डिस्चार्ज भई ६ जना अझै उपचाररत रहेको एसपी बोहराले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरीतर्फ पनि २१ जना डिस्चार्ज भइसकेका छन्।
प्रदर्शनकारीतर्फ भने १७ जना अझै अस्पतालमा छन्। ३५ जना डिस्चार्ज भइसके।
प्रहरीले यस घटनामा संलग्न ४१ जनामाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत ११ जनाविरूद्ध राज्यद्रोको मुद्दामा अनुसन्धान भएको छ।
उनीहरूसहित ४१ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको हो।
संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
प्रहरी र सरकारले तीनकुने घटनाको मुख्य दोषी दुर्गा प्रसाईंलाई मानेको छ। प्रसाईं भने फरार छन्।