सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता तोडेका कारण उनलाई दिइँदै आएको सेवा सुविधाबारे सोच्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा भट्टराईले जनताको आदेश मानेकामा पूर्वराजालाई धन्यवाद भनेको सँगै पूर्वराष्ट्राध्यक्षको हैसियतमा सेवा सम्मान पनि दिइएको बताए।
'सम्नानित नागरिकका रूपमा मात्रै होइन, पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो तर त्यो सम्झौता ज्ञानेन्द्रले आज निर्मल निवासमा बसेर भंग गरेका छन्,' उनले भने, 'सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन?'
भट्टराईले पूर्वराजाले लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नाच गर्न पठाएपछि सम्झौता भंग भएको बताए।
'निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउनु पठाउनुभयो। सम्झौता भंग भयो। तपाईंमाथिको सेवा सुविधा के हुन्छ सरकारले जबाफ दिनुपर्छ,' उनले भने।