नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संवैधानिक राजा भएर बस्ने योग्यता, क्षमता र चरित्र राजसंस्थामा नरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै महामन्त्रीसमेत रहेका शर्माले कांग्रेसको अनुभव संवैधानिक राजसंस्था नरहने रहेको बताए।
‘निर्मल निवासमा पूर्वमहाराजाधिराजले लाइभ हेरिराख्नु भएको छ भने सम्झिनुहोला, तपाईंलाई गद्दीमा स्थापित गर्नका लागि कांग्रेसको सभापति त्यसबेलाको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ढुंगामुढा सहेर संवैधानिक राजसंस्थालाई स्थापित गर्ने प्रयास गरिएको थियो। इतिहासको त्यो कालखण्डलाई बिपी कोइरालाले मेरो र राजाको गर्धन पनि जोडिएको छ भन्दै गर्दा राजसंस्थाको गर्धन जोगिँदैन है, निरन्तर लोकतन्त्रको गर्धनमा प्रहार गर्यो भने भन्ने सन्देश पनि त्यसबेला राजसंस्थाले बुझेन,’ शर्माले भने, ‘अहिलेको परिस्थितिमा हाम्रो अनुभवबाट देशले बुझ्नुपर्छ, नेपालमा संवैधानिक राजसंस्था भएर बस्ने योग्यता, क्षमता र चरित्र छैन।’
नागार्जुनको जंगलमा लगेर सामान्य नागरिकका रूपमा पूर्वराजा ज्ञानेन्द्रलाई राखे पनि चैत १५ मा चरित्र देखिएको उनले बताए।
राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। तीनकुने, कोटेश्वर क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो। दुई जनाको मृत्यु भएको थियो।