गत १५ गते भएको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्नको लागि म्याद थप भएको छ।
जिल्ला अदालत काठमाडौंको न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान र बाँकी ३० जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्ने भएको छ।
यस्तै, मिश्र र राणा बिरामी भएकोले उनीहरूलाई उपचारको प्रबन्ध गर्न समेत अदालतले आदेश दिएको छ।
१५ गते पक्राउ परेकामाथि ५ दिन र त्यसपछि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न म्याद मिलान गरेर ४ दिन थपिएको उनले बताए।
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो।
प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए। प्रसाईंलाई भने 'जनकमान्डर' तोकिएको थियो।
प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ।
यो पनि:
तीनकुने घटना: रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा
तस्बिरहरू:
-1743339141.jpg)
-1743339140.jpg)
-1743339139.jpg)
-1743339139.jpg)
-1743339138.jpg)
-1743339138.jpg)
-1743339139.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी